हिमालमुनि मेला : बास्केटबल, भलिवल सहित परम्परागत खेल सुरु

‘बादल सधैँ रहँदैन, फेरि घाम लाग्छ’: पूर्व खेलकुद मन्त्री विक

पोखरा स्पोर्टस । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । छोम्रोङ अन्नपूर्ण आधार शिविर पदमार्गको प्रस्थान विन्दु हो ।

१४ पुससम्म चल्ने मेलाको एमाले नेता, पूर्व युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आइतबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताए । उनले फेरि एमालेले चुनाव जित्ने दाबी गरे । ‘फेरि नेकपा एमालेले चुनाव जित्छ । अहिले सुरु भएका विकासका कामलाई तीव्र गतिका साथ अगाडि बढाउने छौँ,’ उनले भने, ‘अहिले एकैछिन बादल लागेर घाम छेकिएको भए पनि सधैँ बादल सम्भव छैन । फेरि घाम लाग्छ । हामी जनताकै साथमा छौँ ।’

खुट्टा तान्ने प्रवृत्तिले देश पछाडि परेको बताए । सभामुख निष्पक्ष हुनुपर्नेमा कुनै पार्टी टुक्राउने मतियार बनेको नेता विकले आरोप लगाए । कांग्रेस, माओवादीलगायत दल आफ्नो स्वार्थमा लागेकाले देशको राजनीति अस्थिर बनेको उनको दाबी थियो । जनताले चाहेअनुसारका काम गर्नु आफ्नो जिम्मेवारी भएकाले सधैँ जनताको काम गर्न तयार रहेको नेता विकले बताए । जनताहरु नै मिलेर देश बनाउनुपर्ने उनको भनाइ थियो । ‘देश बनाउने जनता मिलेर हो । कोही बहादुर हनुमान निस्केर रातारात देश विकास गर्दिने होइन । सबै मिलेर देश बनाउने हो,’ नेता विकले थपे, ‘एमालेसँग देश विकासको विचार, लक्ष्य, उद्देश्य भएका हिसाबले हामीले विकासका काम गर्न सकेका हौँ ।’

आफू सरकारमा गएपछि १३ औँ साग गरेर देशको प्रतिष्ठा राखेको नेता विकले बताए । ‘२०७४ सालमै साग हुनुपर्ने रहेछ । सागको जिम्मा लिएको र त्यो काम नहुँदा देशकै बेइज्जत हुने अवस्था थियो । म गएपछि साग तोकिएको समयमा गर्ने गरी काम थाल्यौँ र गर्‍यौँ,’ उनले भने ।

मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउने प्रतियोगिता सोमबारदेखि सुरु हुने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम दर्ता भएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । मेलामा हुने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मेच घुमाइ प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष गुरुङले बताए ।

मेलाको उद्घाटन समारोहमा एमाले गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसी, जिल्ला कमिटी सदस्य भरत गुरुङ, अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष विवेक देवकोटा, पालिका कमिटी सदस्य शेखर गौतम, एक्याप घान्द्रुकका कार्यालय प्रमुख किशोर बोहरा, स्थानीय आमा समूहलगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close