
पोखरा स्पोर्टस । कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ ।
स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो । हिमालय मिलन मा.वि.को स्वर्ण महोत्सव समेतको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन् । अध्यक्ष पराजुलीका अनुसार प्रतियोगितामा सहभागिताका लागि कास्कीसहित अन्य ७ जिल्लाका हाल सम्म ६० जनाले नाम दर्ता समेत गरिसकेका छन् ।
प्रतियोगितामा १४ वर्ष मुनी, १४ देखि १८ वर्ष मुनी र १८ वर्ष माथी गरी तिन छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा तय गरिएको हिमालय मिलन मा.विका प्रधानाध्यापक तथा क्लबका सल्लाहकार ओमप्रकाश गुरुङले जानकारी दिए । प्रतियोगितामा ओभर अल च्याम्पियन र विभिन्न तीन इभेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न क्लवका प्रविधि संयोजक अर्जुन पाण्डे प्रतियोगिता निर्देशकको भूमिकामा रहेकाछन् भने कार्यक्रमको संरक्षकका रूपमा हिमालय मिलन मा.वि.का प्रधानाध्यापक तथा क्लवका सल्लाहकार ओमप्रकाश गुरुङलाई मनोनयन गरिएको छ ।
के हो स्क्रयाबल खेल
स्क्रयाबल (कोठेपद) खेल करिव ९० बर्ष अघि पश्चिमा मुलुकहरुमा सुरू भएको हो । बुद्धिचाल (चेस)खेल जस्तै अक्षरहरुबाट शब्द जोड्दै खेलिने यो खेल विश्वका १ सय २० भन्दा बढी देशमा ४ हजार भन्दा बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिन्छ । यो खेल नेपालमा विसं २०३० सालमा नेपालमा सुरु भए पनि पछिल्लो यो खेलको सुरूवात गर्ने श्रेय पोखरा सार्वजनिक पुस्तकालय स्थित अमेरिकन कर्नरलाई जान्छ ।
आजभन्दा करिव १० बर्ष अघि देखि नेपालमा प्रतियोगिताका रूपमा स्क्रयावल खेल्न र खेलाउन सुरू गरेपछि हाल नेपालका ७७ मध्ये ४० भन्दा बढी जिल्लाहरूमा फैलिएको छ । नेपाल र बगालादेशका शिक्षकहरू मिलेर दुई देश बिच मैत्रीपूर्ण स्क्रयावल प्रतियोगिता आयोजना भइरहेका छन् । नेपालका दुई युवा खेलाडीले ५ बर्ष अघि मलेसियामा आयोजित वेस्पा युथ कप, दुई बर्ष अघि १२ जना युवा खेलाडीले भारतमा आयोजित एशिया युथ कप तथा गत वर्ष ५ जना विद्यार्थीले थाइल्याण्डमा आयोजित वेस्पा युथ कपमा प्रत्यक्ष सहभागिता जनाइसकेका छन् ।
यसका साथै क्लबले राष्ट्रियस्तरका आयोजना गर्दै आएको छ भने यस बर्षको राष्ट्रिय प्रतियोगिता गुल्मी जिल्लाको शिद्धबाबा मा.वि.मा गर्ने तयारी भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । यसै क्रममा, अँग्रेजीका अतिरिक्त नेपाली र गणितका स्क्रयाबल पनि तयार गरी प्रयोगमा ल्याइएको उनले बताए ।
