पोखरा महानगरस्तरीय टेबल टेनिसमा मुना र अनुशलाई स्वर्ण

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित महानगर खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि महिला तर्फ मुना थापा र पुरुष तर्फ अनुश कुँवर च्याम्पियन बनेका छन् ।

पोखरा रंगशाला टेबल टेनिस कोर्टमा बुधबार भएको फाईनल प्रतिस्पर्धामा महिला तर्फ मुना थापाले सुजाता पौडेललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितिन् । उनले ११–७, १२–१० र ११–८ को सेटमा पराजित गर्दै स्वर्ण जित्दा सुजाता रजत पदकमा सीमित भईन् । अनुषा गौतम र कल्पना थापाले कास्य पदक जिते ।

कास्की जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको पुरुष तर्फ अनुश कुँवरले सुमेश लामालाई पाँचौ सेट खेल्दै स्वर्ण आफनो नाममा बनाए । कुँवरले ८–११, ११–९, ९–११, ११–६, ११–४ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् । किसन जिसी र रुप गुरुङ कास्य पदकमा चित्त बुझाए ।

पुरुष डबल्स तर्फ सुलभ केसी र सविन मल्लले स्वर्ण पदक जिते । उनीहरुले अनुष कुँवर र रन्जित मल्लको जोडीलाई पराजित गरेका थिए । दिपकराज गिरी र नविन गुरुङ तथा सुवास गुरुङ र शंकर धितालको जोडीले कास्य पदकमा खुम्चिए । महिला तर्फको डबल्स प्रतिस्पर्धामा अनुषा गौतम र अंकिता गुरुङले स्वर्ण पदक जित्दा मुना थापा र कल्पना थापाले रजत पदक पाए । युक्ति गुरुङ र पदमा थापा तथा सुजाता पौडेल र पार्वती श्रेष्ठको जोडी कास्य पदकमा रमाए ।

पदक विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, सदस्य सचिव सुवास खड्का, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी लगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा सिनियर तथा विभिन्न विद्यालयका गरी ५० खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close