सुष्मिताले जितिन् मुआथाईको प्रो–फाइटको उपाधि, जितिन् नगद ५० हजार

पोखरा स्पोर्टस । पोखराकी सुष्मिता थापा मगरले मुआथाईको व्यवसायिक प्रो–फाइट (WBC) को उपाधि जितेकी छन् । काठमाण्डौमा शनिबार बुढानिलकण्ठ नगर पालिकाको आयोजनामा सम्पन्न महिलातर्फको उपाधि जितेकी हुन् । उनले नेपालकै उत्कृष्ट महिला प्रोफाइटर रोजिना विष्टलाई पाँच राउण्डमा नै उत्कृष्ट अंक हात पार्दै हराउन सफल भइन् । रोजिना नेपाली मुआथाई प्रोफाइटमा लामो अनुभव संगालेकी खेलाडी हुन् । 

उपाधि संगै नगद रु ५० हजार र आकर्षक बेल्ट समेत हात पारेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । आइटिएफ तेक्वान्दोकी खेलाडी समेत रहेकी उनी हाल पोखरा साक–यान्त मुआथाई प्रशिक्षणमा प्रशिक्षणरत रहेकी छन् । सुस्मिताले जितेको यो प्रो फाइट उपाधि नेपाली व्यवसायिक मुआथाई फाइटकै उच्च समेत रहेको प्रशिक्षक क्षेत्रीले बताए ।

क्षेत्रीले भने–“मलाई लागेको थिएन सुस्मिताले यो फाइटमा यस्तो उत्कृष्ट प्रदर्शन गर्छिन भनेर । तर खेलमा उनले आफ्नो शत प्रतिशत दिइन् । उनले फाइट मात्रै जितेकी थिइनन् । पाँच राउण्डको फाइटमा पाँचै राउण्डमा नै विपक्षी विरुद्ध हावी रहिन् ।”

गण्डकी विश्वविद्यालयमा खेलकुद विषयमा स्नातक तहमा अध्ययनरत सुस्मिता पोखरा स्पोर्टस अवार्डमा समेत उपाधि जितेकी थिइन् । उनले अब यहि शनिबार एक प्रो फाइटमा सहभागिता जनाउने तयारीमा रहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close