
पोखरा स्पोर्टस । घरेलु मैदानमा मनाङले पुलिसमाथि ३–१ गोलको जित निकालेको छ ।


खेलको पहिलो हाफमा मनाङले अग्रता लिन पुग्यो । मनाङका डिफेन्डर दिनेश राजवंशीको लामो पासमा कप्तान अञ्जन विष्टले १०औं मिनैटमा गोल गरे । राजवंशीको प्रहारलाई आउट अफ पोजिसनमा रहेका पुलिसका किपर रोशन खडकाले हातबाट फुस्काए पछि अञ्जन गोल गर्नबाट चुकेनन । रोशन पेनाल्टी बल रोक्न एरिया बाहिर निस्किएका बेला खाली पोष्टमा अञ्जनले सहज गोल गरे ।
३५औं मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।
७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरामले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि–किक पाएको थियो । अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।
८३औं मिनेटमा मनाङका निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ओलावालेले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्काएका थिए । सोही रिबाउन्ड बलमा निशानले भली प्रहार गर्दै गोल गरे ।
जित संगै मनाङले नगद ५० हजार हात पारेको छ भने प्रतियोगिताको म्यान अफ दि म्याचको उपाधि मनाङका अन्जनले हात पारे । त्यसै गरी पुलिसका निरकुमार राईले इमरजिङ प्लेयरको अवार्ड हात पारे । उनीहरुलाई गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ र एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले नगद र ट्रफी हस्तान्तरण गरेका थिए ।
लिग अन्तर्गत मनाङले पोखरामा आफ्नो दोश्रो खेल यहि पौष १७ गते विग्रड ब्वाइज संग खेल्नेछ भने २४ गते च्यासल संग भिड्ने छ । जित संगै मनाङ ५ खेलमा ४ जित र १ मा खेलमा बरावरी गर्दै १३ अंक सहित पोइन्ट टेवलको शिर्ष स्थानमा उक्लिएको छ ।
