
पोखरा स्पोर्टस । खेलकुद र सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको पोखरा लेखनाथस्थित सूर्य तारा युवा क्लवले पहिलो पटक आयोजना गरेको ३० वर्ष माथीका खेलाडीले सहभागिता जनाउन पाउने ‘भेट्रान्स ५-ए साइड फुटसल’को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

क्लवका अध्यक्ष एवम प्रतियोगिताका संयोजक समेत रहेका विष्णु पुनले तयारी पुरा भए संगै प्रतियोगिता अन्तर्गत १६ टिम भिड्ने जनाएका हुन् । पौष ३ गते पोखरा लेखनाथ तालचोकस्थित काइट्स स्पोर्टसमा हुने उद्घाटन खेलमा आयोजक रातो भेट्रान्स र शिसुवा भेट्रान्स भिड्ने उनले जानकारी दिए ।
पोखरा काष्ठ उद्योगको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको उद्घाटन स्याङजा हरिनाश गाउँ पलिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुनले बताए ।
प्रतियोगिताको उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ । प्रतियोगिताको समापन पौष ४ गते आइतबार हुने छ ।
