फुटबल विकासका लागि मनाङ मर्स्याङदी क्लवलाई प्रदेश सरकारको १० लाख सहयोग

पोखरा स्पोर्टस । नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी (एमएमसी)लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ ।

गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता–पत्रमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ र एमएमसीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।

पोखरामा लिग खेलकै इतिहासमा पहिलो पटक आयोजना हुने लागेको शहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगितामा होम एण्ड अवेको अवधारणामा एमएमसीले पोखरा रंगशालालाई रोजे पछि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । एमएमसीले उक्त रकम टिमको व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने जनाईएको छ ।

सम्झौतामा जनाइए अनुसार एमएमसीले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद गण्डकी संग मिलेर काम गर्नेछ प्राविधिक लगायत पोखरा रंगशालाको संरक्षण लगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौता–पत्रमा उल्लेख छ । एमएमसी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो पटक शनिवार नेपाल पुलिस संग मैदानमा उत्रिने छ । शहिद स्मारक लिग अन्तर्गतको ४४ औं ऋंखलाको पूर्व सन्ध्यामा प्रदेश सरकारले १० लाख सहयोग उपलव्ध गराएको छ । एमएमसीलाई सहयोग स्वरुप प्रदान गरिएको उक्त रकम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समेत विनियोजन गरेको छ ।

सम्झौता पछि कुरा गर्दै यूवा तथा खेलकुद मन्त्री गुरुङले एमएमसी जस्तो टिम संग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुखद रहेको बताए । उनले भने–“अव प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत हामीले एमएमसी संग मिलेर अघि बढ्न सक्छौं ।” एमएमसीले पोखरालाई होम ग्राउण्ड रोज्नु स्वागत योग्य रहेको जनाउँदै प्रदेश सरकारले हाल १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मुल उद्धेश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्य नै रहेको औंल्याए ।

यता प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले एमएमसी संगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने सहकार्यहरु आगामी दिन अझै व्यवस्थित बनाउँदै लैजाने बताए । “यो गण्डकी प्रदेशको फुटबल विकासका लागि महत्वपूर्ण पाटो हो, हामी एमएमसी जस्तो टिम संग फुटबल विकासका लागि संग–संगै हिड्ने छौं,” उनले भने ।

सम्झौता पछि कुरा गर्दै एमएमसीका अध्यक्ष मुखिया गुरुङले प्रदेश सरकार संग मिलेर फुटबल विकासका लागि अघि बढ्न पाउनु निकै सुखद रहेको बताए । उनले भने–“पहिलो पटक हामी काठमाडौं बाहिर लिग खेल्न पोखरा आएका छौं, प्रदेश सरकार संग मिलेर फुटबल विकासमा अघि बढ्नेछौं ।”

सो अवसरमा यूवा तथा खेलकुद मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close