कार्कीले तीन दिनमा जनकपुरसम्मको २२५ किमि दौड पुरा गरे

पोखरा स्पोर्टस । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन् ।

गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन दिन लगाएर पूरा गरेका हुन् । उनले पहिलो दिनको दौडमा नेपालथोकमा पुगेका थिए भने दोश्रो दिन कार्कीले सिन्धुलीमाढी बजारमा विश्राम लिएका थिए । तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेका थिए ।

कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेकोमा यसपटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए । दौडका क्रममा विभिन्न स्थानमा स्थानियले कार्कीलाई हौसला प्रदान गर्नुका साथै सम्मान गरेका थिए ।

यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् । त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेलु प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close