पोखरामा २१औं संस्करणको माछापुच्छ्रे टेनिस पौष ११ गतेबाट सुरू हुँदै, तयारी अन्तिम चरणमा

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा २१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिस पौष ११ गतेबाट सुरू हुने भएको छ ।

पोखरा रंगशालाको टेनिस कोर्टमा यहि पौष ११ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कास्की जिल्ला टेनिस संघले जनाएको हो ।  प्रतियोगितामा सहभागिता जनाउन विभिन्न देशका खेलाडीहरु पोखरा आउने भएको कास्की टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नविन चालिसेले जनाएका छन् ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरी तयारी अघि बढेको प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने चालिसेले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ओपन सिंगल्स, डबल्स, भेट्रान्सतर्फ ३५ वर्ष माथी सिंगल्स/डबल्स, ४५ वर्ष माथी सिंगल्स/डबल्स, ५५ वर्ष माथी सिंगल्स/डबल्स तथा ६५ वर्ष माथी सिंगल्स/डबल्सका खेलहरु हुने छन् ।

२१ औं माछापुच्छ्रे पोखरा ओपनतर्फ नेपाल नं १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता समेत रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा १४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले आकर्षक नगदका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले समेत नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

“२१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८१” सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने उनले जनाएका छन् ।

यता कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ ‘राजु’ ले पोखराको धरोहरको रुपमा रहेको प्रतियोगितालाई सफल बनाउन र पोखरा रंगशाला आएर अवलोकन गर्न सबै संग आग्रह गरेका छन् ।

गत वर्ष सम्पन्न २० औं माछापुच्छ्रे टेनिसमा पुरुष सिंगल्समा संरक्षक भुषण बज्रचार्य र महिलातर्फ सुनिरा थापा च्याम्पियन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close