
पोखरा स्पोर्टस । गाउँघरको मेलाहरुमा आयोजना हुने परम्परागत खेल ठेलो खेल पछिल्लो समय यता शहर बजारमा समेत आयोजना हुन थालेको छ ।
यसै सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीले पोखरामा चैते दशैंको अवसर पारेर यहि चैत २६ गते ठेलो खेल आयोजना गर्ने भएको हो । सो बारे जानकारी दिंदै एकेडेमीका उपाध्यक्ष तथा राखेप सदस्य राजेश कुमार गुरुङले चैते दशैंको अवसरमा पोखरा रंगशालामा ठेलो खेल आयोजना गर्ने जनाए ।
परम्परागत खेलको संरक्षण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत समावेश गर्न ठेलो खेल आयोजना गर्ने जनाए । उनले भने–“यो खेल अव गण्डकी प्रदेशमा हुने मेलाहरुमा मात्रै होइन, राष्ट्रिय खेलको रुपमा अघि बढाउन आवश्यक छ, त्यसैले चैते दशैंमा यो प्रतियोगिता आयोजना हुनेछ ।”
उक्त प्रतियोगितामा विजेताले उपाधि सहित नगद २५ हजार र उपविजेताले नगद १५ हजारका साथ मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
स्मरणिय के छ भने प्रदेश खेलकुद परिषद गण्डकीले समेत हालै पोखरामा प्रदेशस्तरिय ठेलो खेल आयोजना गरिसकेको छ ।
