पोखरा २२ उल्लेरीमा सुरु भयो सेभेन ए साइड

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ (पुम्दी भुम्दी) लाई पर्यटनको हब बनाउनु पर्ने बताउनु भएको छ ।

पोखरा २२ स्थित उल्लेरी युवा क्लवले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले पर्यटनको धेरै सम्भावना भएको पुम्दी भुम्दीलाई पर्यटनको हबको रुपमा विकास गर्नुपर्ने बताउनु भएको हो ।

उल्लेरीबाट माछापुच्छ्रे लगायतका हिमश्रृखला प्रष्ट नजिकैबाट अवलोकन गर्न सकिने उल्लेरी क्षेत्रको समेत विकास गर्न छोरेपाटन देखि ढावा, उल्लेरी हुदै कुभिण्डे भन्झ्याङ सडक पिच गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । युवा बर्गलाई लक्षित गर्दै मन्त्री बरालले शिक्षा, खेलकुदसंगै राजनीतिमा पनि युवाहरु आउनु पर्ने बताउनु भयो । उल्लेरी क्षेत्रको निकै महत्वपूर्ण स्थानमा रहेको खेलकुद मैदानको स्तरउन्नती गर्न बिषेश पहल गर्ने उहाँको भनाई थियो ।

उल्लेरीमा पहिलो पटक भएको उक्त खेलले त्यस क्षेत्रको पहिचान गराउन सफल भएकोले अगामी दीनमा यस्ता खेलकुद गतिविधि निरन्तर रुपमा संचालन गर्न मन्त्री बरालले आग्रह गर्नु भयो । उल्लेरी युवा क्लवका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उल्लेरी गाउँ सुधार समितिका अध्यक्ष गणेश गुरुङ ढावा युवा क्लवका अध्यक्ष संजिव गुरुङ लगायतले वोलेका थिए ।

यसैचिब उक्त कार्यक्रममा पूर्व मन्त्री तुल बहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बराल लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको साथमा स्थानियको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि मन्त्री सहितको टोलीलाई पन्चे बाजा सहित फुलमालाले स्वागत समेत गरिएको थियो ।

त्यस्तै मंगलबार देखि सुरु भएको प्रथम सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक टिम उल्लेरी युवा क्लवले विजयी सुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम उल्लेरीले छिमेकी क्लव स्याङजाको पर्सेभाटी स्थित सिंहमति युवा क्लवलाई १–० को झिनो गोल अन्तरले पराजित गरेको हो । उल्लेरीको जितमा सन्देश रानापालले निर्णायक गोल गरे ।

यही मंसिर २५ गतेसम्म चल्ने प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close