गणेशमान सिंह बक्सिङ सोमबारदेखि

काठमाडौं सम्वाददाता । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिएका हुन । बुढाथोकीका अनुसार खेलहरु सोमबारदेखि सुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार नै हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन् ।

सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा हाम्रा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close