पोखरामा हुँदैछ अन्तर्राष्ट्रिय सहाशिक ट्राइयाथलन, १ सय देशका खेलाडी सहभागी हुँदै

३.५ किलोमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४५ किलोमिटर दौड समावेश हुने

पोखरा स्पोर्टस । हिमालयन एक्स्ट्रिको आयोजनामा नेपालमा पहिलो पटक ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय सहाशिक ट्राइयाथलन पोखरामा हुने भएको छ ।

उक्त प्रतियोगिता सन २०२२ मे ७ मा हुने भएको हो । प्रतियोगितामा विश्वभरीका करिव १ सय प्रतियोगीहरु सहभागिता हुने हिमालयन एक्स्ट्रिका को–रेस डाइरेक्टर रिक्की योञ्जनले पोखरा स्पोर्टसलाई बताएका छन् । दुई वर्ष अघि आयोजना हुने भनिएको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । प्रतियोगितामा यो समाचार तयार पार्दा सम्म ३५ देशका ७४ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गरिसकेका छन् । त्यसमा रसियन प्रतियोगीको संख्या ८ छ । प्रतियोगिता आयोजना हुँदा सम्म १ सय जना पुग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

नेपाली खेलाडी सोनी प्रतियोगिताको व्राण्ड एम्वासडर
नेपाली ट्राइयाथलन खेलाडी सोनी गुरुङलाई यो प्रतियोगिताको व्राण्ड एम्वासडरको रुपमा आयोजक संस्थाले अघि सारेको छ । शसस्त्र प्रहरीबलमा कार्यरत सोनी १३ औं दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता समेत हुन् । उनी उक्त प्रतियोगितामा सहभागी हुने एक्लो नेपाली खेलाडी समेत हुन् । ट्राइयाथलन खेलमा सोनी सवैको ‘आइकन’ भएकोले पनि उनलाई अधि व्राण्ड एम्वासडरको रुपमा अघि सारिएको योञ्जनले बताए ।

आयोजकले ट्राइयाथलनका तिन वटै इभेन्टका लागि आवश्यक पर्ने विश्व प्रख्यात ‘हुब’ कम्पनीको स्विमिङ (वेट सुट) सुट, टिशर्ट, जुत्ता लगायतका कस्टुयुम लगायतका सामाग्री हस्तान्तरण गरेको छ । प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योञ्जनले सोनीलाई ति सामाग्री हस्तान्तरण गरेका छन् । विगत ६ वर्ष देखि एफिएफमा कार्यरत सोनी धादिङकी हुन । २७ वर्षिय सोनी विगत ७ वर्ष देखि ट्राइयाथलन खेलमा आवद्ध छिन् । उनी आठौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता समेत रहि सकेकी छन् ।

हिमालयन एक्स्ट्रिको आयोजनामा नेपालमा पहिलो पटक ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’मा आफू पनि सहभागी हुन पाउँदा निकै गर्वको महशुस भएको सोनीले बताइन् । उनले भनिन्–“वर्ल्ड क्लास एथलिटहरु संग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो ।” उनले यो प्रतियोगिताले धेरै आफ्ना साथीहरुलाई आकर्षित गरे पनि समय अभावका कारण उनीहरु सहभागी हुन नपाउने बताउँदै अर्को वर्षको तयारी गर्न आफूले आग्रह गरेको बताइन् ।

प्रतियोगिताका लागि विगत ५ महिना देखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पुरा गर्नेतर्फ नै लागि परेको बताइन । “यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिम पूर्ण प्रतियोगिता हो” उनी भन्छिन–“नेपाली खेलाडीहरु कठिन संघर्षका विच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।”

के हो ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ ?
‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ विश्वकै सहाशिक प्रतियोगिताको रुपमा चिनिने गर्दछ । युरोपका विभिन्न देशहरुमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एशियामा भने पहिलो पटक आयोजना हुँदैछ । नेपालको प्रतियोगिता सकिए लगतै ताइवानले यो प्रतियोगिता आयोजना गर्दैछ ।

‘एक्सट्रा वर्लड टुर’ नाम वाट सञ्चालन हुने यो प्रतियोगिता विश्वका १७ वटा मुलुकमा आयोजना हुने गरेको छ । “नेपाल सहासिक खेलकुद गन्तव्यका रुपमा विश्वमानै परिचित हुन थालेकोले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं”, प्रतियोगिताका को–डाइरेक्टर योन्जनले भने–“यो वर्ल्ड एक्स्ट्रिम टुर हो, दक्षिण एसियामा मात्रै नभई एशियाली मुलुकमा यस्तो प्रतियोगिता आयोजना गर्ने नेपाल पहिलो देश हुनेछ ।” यो प्रतियोगितामा खेलाडीहरुले पुरा गर्ने सवै क्षेत्रको उचाई मापन गर्दा करिव ८९०० मिटर पुग्ने भएकोले पनि यसलाई एक्स्ट्रीम भनिएको को–डाइरेक्टर योग्जनको भनाई छ ।

पोखरामा नै किन ?
नेपालका हिमाल, पहाड यहाँका प्राकृतिक तालहरुको कारण सहाशिक खेलकुदको गन्तव्यको रुपमा पहिचान दिलाउन यो कार्यक्रम आयोजना गरिएको बताउँछन रेसका को–डाइरेक्टर योञ्जन । विशेष गरी ट्राइयाथलनका लागि आवश्यक पर्ने ताल, साइक्लिङ रुट र दौडका लागि हिमाली र पहाडी अप्ठ्यारा सडक तथा खोँचहरुले पनि पोखरालाई प्रमुख आयोजना स्थलको रुपमा रोजिएको उनको भनाई । “पोखरा आफैमा सुन्दर पर्यटकिय गन्तव्य हो” उनी भन्छन–“ट्राइयाथलनका लागि पोखरा विश्वका खेलाडीहरुको लागि महत्वपूर्ण गन्तव्य समेत हो ।”

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्राइयाथलन पोखरामा आयोजना भएको थियो भने हरेक वर्ष नेपाल ट्राइयाथलन संघले यहाँ प्रतियोगिता आयोजना समेत गर्दै आइरहेको छ । विशेष गरी ट्राइयथलनको इभेन्टमा नभई नहुने ताल संगै यहाँ व्यवस्थापनको सहजताले पनि पोखरा यो प्रतियोगिताको लागि प्रमुख गन्तव्य समेत हो । फेवातालको विश्वभरी फैलिएको आकषर्णको केन्द्र भए पनि यसबाट मुलुकले आझै सुमचित लाभ भने लिन सकेको छैन ।

यसरी आयोजना हुँनेछ प्रतियोगिता, के छ त ‘एक्स्ट्रिम’ ?
प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पोडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हो । प्रतियोगिता मे ७ का दिन विहानै ४ बजे फेवातालमा ३.५ किलोमिटर पौडीबाट शुरुवात हुनेछ । पौडी पछि लगतै प्रतियोगीहरुको साइक्लिङ दौड शुरु हुनेछ । उनीहरु साइकलबाट पोखरा हुँदै स्याङजाको वालिङ पुग्ने छन् भने त्यहाँबाट फिर्ता भएर पुनः पोखरा सराङकोट हुँदै काँडे पुग्नेछन् । यो साइकल दौड करिव १८० किलोमिटर हुनेछ ।

साइकलको यात्रा पार गरे लगतै प्रतियोगिहरुको दौड कास्कीको काँडेबाट शुरु हुनेछ । उनीहरु कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुग्नेछन् । उक्त प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुने आयोजक संस्थाका स्थानिय प्रतिनिधी समेजराज भण्डारीले जानकारी दिए । उनले पोखरा स्पोर्टस संगको कुराकानीमा भने–“यो प्रतियोगिता १४ घन्टामा सक्ने अनुमान गरेका छौं तर त्यो भन्दा पनि लामो हुनेछ, किनभने सबै खेलाडीहरुको एकै समयमा आइपुग्ने छैनन् ।”

प्रतियोगिताको विशेषता
यो प्रतियोगिताको विशेषता भनेको नै सहभागी प्रतियोगिहरुले अनिवार्य रुपमा आ–आफ्ना खेल सामाग्री सहित एक जना सहयोगी पनि संगै लिएर अनिवार्य रुपमा आउनुपर्ने छ । “दौडको समयमा प्रतियोगीलाई केही सामाग्री आवश्यक प¥यो वा पानी नै चाहियो भने पनि सहयोगी मार्फत नै हुनेछ,” को–रेस डाइरेक्टर योञ्जनले भने–“यसमा आयोजकले कुनै सहयोग गर्दैन ।” अर्को विशेषता भनेको यो प्रतियोगितामा आयोजक संस्थाका सदस्यहरु समेत सहभागी हुनुपर्नेछ ।

यो प्रतियोगितामा ट्राइयाथलन खेलाडी चेक रिपब्लिकका पेटर भाव्रो चेक, रोमरिनयाका रोवर्ट हाज्नाल, स्विजरल्यण्डका फ्लोर कोलेज, नर्वेका आलान होभाटा लगायत अन्य देशका प्रख्यात प्रतियोगीहरुको सहभागिता हुनेछ ।

के पाउनेछन् विजयी प्रतियोगीले
विश्वकै अति कठिन मानिएको ट्राइयाथलन प्रतियोगितामा सहभागी हुनेहरुले धेरै धनराशी पाउने आंकलन गर्न सकिन्छ । तर उनीहरुले त्यस्तो मेडल, प्रमाणपत्र वा कुनै नगद भने पाउने छैनन् । उनीहरुले पाउनेछन् त केवल एक कालो रङ्गको टिशर्ट जुन निकै महङ्गो सँगै दुलर्भ पनि छ । जित पछि पाइने कालो छिरिविरे रङ्गमा प्रतियोगिताको लोगोले नै विश्वभर त्यो प्रतियोगीलाई चिनाउने छ ।

प्रतियोगितामा विश्वभरीका मिडियाको आँखा
नेपालमा पहिलो पटक आयोजनक हुन थालेको यो प्रतियोगिताका लागि विश्वका ठूला सञ्चार माध्यमहरुले आँखा लगाएका छन् । उनीहरुले यो प्रतियोगिताको आयोजनाको दिनलाई कुरिरहेको बताउँछन् प्रतियोगिताका अर्का को–रेस डाइरेक्टर जेम्स रुसमेकेन्जी । उनले भने–“यो नेपाललाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा चिनाउने ठूलो अवसर पनि हो, पोखरामा यो प्रतियोगिता आयोजना हुँदैछ र विश्वका विभिन्न सञ्चार माध्यमहरु अहिले बाटै आफ्नो तयारी शुरु गर्दैछन् ।”

यहाँको प्रकृतीमा विश्व भरिका खेलाडीहरु हिमाल सम्म पुग्ने सँगै यहाँको सांस्कृतिक पक्ष सँग रमाउने अवसरलाई नेपालले विश्व पर्यटन बजारमा नयाँ फड्को मार्ने को–रेस डाइरेक्टर जेम्स बताउँछन् । “यो एक्सिट्रम ट्राइयाथलन मात्रै होइन, विश्वका खेलाडीलाई यो रेस मार्फत जोड्न यहाँको सांस्कृतिक, सामाजिक पक्ष संगै यहाँको स्थानिय समुदायको संगको सम्वन्ध विस्तारमा समेत भूमिका खेल्ने छ ।” उनले भने ।

प्रतियोगितालाई सफल बनाउन नेपाल ट्राइयाथलन संघले समेत सहयोग गर्ने भएको छ । यसको इभेन्ट म्यानेजरको रुपमा दिवश योञ्जन, मार्केटिङ म्यानेजरको रुपमा श्रवण खोजु र मार्केटिङ एक्जुकेटिभका रुपमा दोर्जे तामाङले सहयोग गरिरहेका छन् । त्यस्तै प्रतियोगिताको फोटोग्राफी प्रख्यात फोटो ग्राफर काइओतो मेलाउ रहनेछन् । सन २०२३ मा हुने दोश्रो संस्करणको प्रतियोगितामा २ सय ५० भन्दा वढी प्रतियोगिहरुको सहभागिता हुने अनुमान आयोजकले गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुन चाहने नेपाली एथलिटहरुको दर्ता शुल्क निशुल्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close