गण्डकी प्रदेशस्तरिय खेलकुद : ११ खेलको छनोट सम्पन्न, अन्य जारी

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद परिषदले बिहिबार ११ विभिन्न खेलको छनोट सम्पन्न भएको जनाएको छ ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विशेष प्रशिक्षणमा सञ्चालित ११ खेलको छनोट सम्पन्न भएको जनाएको हो । प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीका अनुसार हक्की, फेन्सिङ, स्विमिङ, शुटिङ, शारिरिक सुगठन, कुस्ती, टेनिस, सफ्ट टेनिस, आर्चरी, सेपाक्ताक्रो र रग्वीको छनोट सम्पन्न भएको बताए ।

यसै गरी शुक्रबार सम्म विशेष प्रशिक्षण अन्तर्गत र बिहिबारबाट जारी प्रदेशस्तरिय प्रतियोगिता गरी थप १५ खेलको छनोट प्रक्रिया सम्पन्न हुने परिषदले जनाएको छ ।

प्रदेशस्तरिय प्रतियोगितामा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड, बास्केटबल, फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, विभिन्न मार्शल आर्टसका खेलहरु, बक्सिङ, ह्याण्डबल, स्क्वास, टेवुल टेनिस लगायतका खेलहरु जारी रहेका छन् ।

यसै गरी आज सम्पन्न कराते प्रतियोगीता अन्तर्गत एकल काता महिला बिमला नेपाली कास्की प्रथम, पुरूष एकल काता बुद्ध लामा गोर्खा प्रथम, टिम काता महिला बिमला, मसिना राई, सन्ध्य राई कास्की प्रथम, टिम काता पुरूषतर्फ प्रभात पुन, दिलिप बुढा, प्रथम राई कास्की प्रथम हुन सफल भएको प्रशिक्षक तथा निर्णायक सुरेन्द्र गुरुङले जानकारी दिए ।

त्यस्तै बिहिबार नै सम्पन्न तेक्वान्दो पुम्सेतर्फ कास्कीले जितेको छ । पुम्सेतर्फ एकल, जोडी टिम सवै इभेन्टमा कास्कीले जितेको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले जनाएका छन् ।

पोखरामा विहिबारबाट सुरु भएको प्रदेशस्तरिय प्रतियोगितामा ३ हजार २ सय २३ खेलाडी सहभागि छन् । ति मध्येबाट ७ सय ९ जना खेलाडीहरु आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि छनोट हुनेछन् । उनीहरुले ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका ४ सय ४ वटा इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ जना महिला खेलाडीहरुको सहभागिता जनाउनेछन् ।

प्रदेशस्तरिय प्रतियोगितामा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्वितिय र तृतिय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close