
पोखरा स्पोर्टस । सहारा यूके द्वारा स्थापित सहारा एफसीका टिम क्याप्टेन कुञ्जन गुरुङले आइतबार सम्पन्न लण्डन म्याराथन दौडेर च्यारिटीका लागि ४ हजार ५१ पाउण्ड संकलन गरेका छन् ।
पहिलो पटक म्याराथनमा सहभागी भएका फुटबलर कुञ्जनले ४२.१ किमि दौड ३ घन्टा ४४ मिनेटमा पुरा गरे । स्वास्थ्य सेवाका लागि कार्यरत संस्था स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेका लागि च्यारिटी संकलन गर्न लण्डन म्याराथनमा सहभागी भएका कुञ्जनले ४ हजार ५१ पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव ६ लाख ५० हजार संकलन गरेका छन् ।


दौड पुरा गरे पछि पोखरा स्पोर्टस संग कुरा गर्दै कुञ्जनले दौड पुरा भएकोमा निकै खुसी लागेको बताए । उनले भने–“म निश्चित उद्धेश्यका लागि म्याराथनमा सहभागी भएको थिंए सबैको सहयोग र आर्शिवादले पहिलो पटक जिवनमा म्याराथन दौड पुरा गरेको छु यसमा मेरो वुवा संगै परिवारको पनि ठूलो प्रेरणा थियो । म्याराथनका लागि धेरैले खुलेर सहयोग गर्नुभएको छ । मलाई हौसला दिनु भएको छ । म परिवार सहित सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छु ।” उनले आफूले च्यारिटी मार्फत संकलन गरेको रकम स्वास्थ्य उपचार नपाएर कठिन अवस्थामा रहेका हरुका लागि केही राहत प्रदान हुने विश्वास व्यक्त गरे ।
“यो निकै ठूलो उपलव्धी हो,”सहारा यूकेका अध्यक्ष कुमार गुरुङले भने–“कुञ्जनले समाजका लागि निकै प्रभावकारी र उदाहरणिय कार्य गरेका छन । यो सवै युवाका लागि मार्गदर्शन हो ।” कुञ्जनले आफ्न वुवा रि ले. कुशाङ गुरुङको पदचाप पच्छाएका मात्रै छैनन आफू जस्तै यूवाहरुलाई समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको सहारा यूकेका अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए । अध्यक्ष गुरुङले आफ्ना छोरा छोरीलाई खेलकुद संगै सामाजिक अभियानका लागि समर्पित गर्न भूमिका खेल्नुपर्ने बताए । “कुञ्जनले पुरा गरेको यो निकै महत्वपूर्ण अभियान थियो, यसले यूवाहरुलाई प्रेरणा त दिएको छ नै संग–संगै अभिभावकहरुलाई समेत चेतना जागृत गराएको छ ।”
विश्वकै चर्चित मलेशियाको माउन्ट किनावुलुका किर्तिमानी धावक तथा सहारा युकेका उपाध्यक्ष समेत रहेका ले.रि कुशाङ गुरुङले आफ्नो छोरा कुञ्जनले समाजको हितका लागि महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गरेका छन् । उनले भने–“मैले मेरो छोरा भनेर प्रशंसा गरेको होइन आजको यूवाहरु समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणाको सन्देश छर्नु नै महत्वपूर्ण हो, यो कार्य विदेशमा बस्ने हाम्रा दाजुभाई जसको छोरा–छोरीले गरे पनि हामी त्यसलाई उत्प्रेरणा दिनुपर्छ सहयोग गर्नुपर्छ ।”
स्मरणिय केछ भने स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेले नेपालको पर्वत फलेबास चारभञ्ज्याङ खाल्टेमा करिव ४० खर्च गरेर स्वास्थ्य सेवा अन्तर्गतको टेलिमेडिसन सेन्टर स्थापना गरेको छ भने नेपालको धादिङ लगायतका जिल्लामा समेत यस्तै प्रकारका सेन्टरहरु स्थापना गर्ने भएको छ । उक्त संस्थाले विश्वभरीनै स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दछ ।
यस पटक सम्पन्न लण्डन म्याराथनमा ४० हजार भन्दा वढिको सहभागिता रहेको थियो ।
