लमजुङ मिनि म्याराथनको उपाधी जुम्लाका दुर्गा बुढाले जिते

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समितीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा शनिवार सम्पन्न प्रथम खुल्ला मिनि म्याराथनको उपाधी जुम्लाका दुर्गा बुढा मगरले जितेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडारमा सम्पन्न १५ किलोमिटर मिनि म्याराथनमा देशभरीबाट सहभागी १ सय १७ जना प्रतिष्पर्धीलाई उछिन्दै जुम्लाका दुर्गा बुढाले ४४ मिनेट ४३.२४ सेकेण्डमा पुरा गर्दै उपाधि सहित नगद ४४ हजार ४ सय ४४ रुपैयाँ हात पारेका हुन ।

यसै गरी प्रतियोगितामा पर्वतमा अनिष थापा मगरले ४४ मिनेट ४३.९६ सेकेण्डमा पुरा गर्दै दोश्रो भए । उनले दोश्रो भए सँगै नगद २२ हजार २ सय २२ हात पार्न सफल भए । उपाधी विजेता दुर्गा वुढा र अनिष दुवै जना भारतिय सेनामा कार्यरत रहेका छन् ।

प्रतियोगितामा नेपाल आर्मी क्लवका होमलाल श्रेष्ठले उक्त दौड ४५ मिनेट ४४.६२ सेकेण्डमा पुरा गर्दै तेश्रो स्थान प्राप्त गरे । उनले नगद ११ हजार १ सय ११ प्राप्त गरेका छन् भने प्रतियोगितामा नवराज साउद र रामजी वस्नेतले चौथो र पाँचौ स्थान हासिल गरी नगद ५–५ हजार प्राप्त गरे । उनीहरु दुवै जना नेपाल आर्मी क्लवका धावक हुन् ।

विजेता खेलाडीहरुलाई संविधानसभाका सदस्य जमिन्द्रमान घले, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, सुन्दर बजार नगर पालिकाका प्रमुख जनकराज मिश्र, लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्की, नेपाली सेनाका सेनानी प्रकाश अधिकारी, प्रदेश खेलकुदका सदस्य दिवाकर बराल (बासु), जिल्ला खेलकुदका पूर्व अध्यक्ष गोविन्द बस्नेत लगायतले नगद, प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी हुँदै दौड पुरा गर्ने सवैभन्दा पाको उमेरका ५८ वर्षिय भिम बहादुर तामाङ र कान्छो उमेरका १४ वर्षिय धावक प्रमोद गैरेलाई नगद सहित विशेष सम्मान गरिएको थियो ।

यस अघि समापन कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथी जमिन्द्रमान घलेले यस प्रकारका प्रतियोगिताहरुले यूवाहरुलाई उत्साह जगाउने बताउँदै संघिय, प्रदेश र स्थानिय सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेशलाई दौडको प्रदेशको रुपमा परिचित बनाउन आफ्ना योजनाहरु अघि सारेको बताउँदै खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु तय गरिएको बताए ।

समापन कार्यक्रम जिल्ला खेलकुद विकास समिती लमजुङका अध्यक्ष योग बहादुर गुरुङ (कालु)को अध्यक्षतामा भएको थियो । अध्यक्ष गुरुङले दौड सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै जिल्ला खेलकुदमा कर्मचारी नहुँदा दैनिक कार्य सम्पादनमा निकै कठिनाई उत्पन्न भइरहेको बताए ।

यस अघि उक्त दौड वेशिसहर र सुन्दरबजारको सिमाना उदिपुरबाट शुरु भएर सिंउडी बजार, सुन्दर बजार, पौंदी, वगैचा हुँदै भोटेओडारमा पुगेर सम्पन्न भएको थियो । उक्त दौडको प्राविधिक सहयोग जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष हरि वरुवाल र सदस्य शंकर शाह सहितको टोलीले गरेको थियो ।

सदस्य सचिवको टोलीले गर्‍यो पूर्वाधारहरुको निरिक्षण


प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य दिवाकार बराल, सदस्य केशव पाठक, प्रदेश खेलकुद परिषदमा कार्यरत सागर गौतम सहितको टोलीले जिल्लामा निर्माण भइरहेका खेलकुद पूर्वाधारहरुको निरिक्षण तथा अवलोकन गरेको छ । जिल्ला खेलकुद विकास समिती लमजुङको टोलीले वेशीशहरको सहजी खेल मैदान, सहजी कभर्ड हल, राइनास गौलीटार खेल मैदानको निरिक्षण सँर्गै जानकारी लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close