राष्ट्रिय क्रिकेट यू–१९: सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

पोखरा स्पोर्टस । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले ५ रन जोडे ।

बलिङतर्फ वाग्मतीका गौतम केसी र प्रतिश जिसीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको वाग्मती ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । वाग्मतीका विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए भने कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सूयांशु कोइराला ८ उत्तम थापा ६, प्रशान्त महत १, प्रतिश जिसी ६, गौतम केसी ७ तथा विपुल खनाल ३ रनमा आउट भए ।

सुदूरपश्चिमका हेमन्त धाँमी एक्लैले ५ विकेट लिए भने शेर मल्लले चार विकेट लिए । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल यही मङ्सिर १९ गते आइतबार हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close