
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच लेबनानको बेरुतमा हुने एसियन ओसियाना क्याडेट र जुनियर जुडो च्याम्पियनसिपमा सहागी हुने जुडो टोलीलाई शुभकामना सहित बिदाइ गर्नु भएको छ । डिसेम्बर २ देखि ५ सम्म हुने प्रतियोगितामा सहभागी टोली प्रशिक्षकसहित पाँच सदस्यीय रहेको छ ।

टोलीको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् भने खेलाडीमा देवकीमाया श्रेष्ठले जुनियर ५२ केजीमुनि, सुबोध मण्डलले जुनियर ६० केजीमुनि, निशा श्रेष्ठले क्याडेट ४८ केजीमुनि र ताराबहादुर भुजेलले क्याडेट ५५ केजीमुनिमा चुनौती पेस गर्नु हुनेछ । बिदाई अवसरमा अध्यक्ष श्रेष्ठले टोलीको सफलताको कामना गर्दै खेलाडीले उच्च प्रदर्शन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको समेत सहभागिता रहेको थियो । निशा र सुबोधले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाइसकेका छन् । निशा र ताराबहादुरको भने यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । प्रतियोगितामा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विशेषज्ञका रूपमा सहभागी हुनुहुनेछ ।
अध्यक्ष बज्राचार्यले जुडो युनियन अफ एसिया (जेयूए) को कार्यकारी कमिटीको बैठकमा पनि भाग लिनुहुनेछ । वज्राचार्य जेयूएको इजुकेसन एन्ड कोचिङ निर्देशक पनि हुनुहुन्छ । यस्तै सुप्रसिद्ध ताम्रकार प्रतियोगितामा स्पोर्टस डाइरेक्टर आईटी एक्सपर्टका रूपमा सहभागी हुनुहुनेछ । प्रतियोगितामा सहभागी चार खेलाडी असोजमा भएको छनोट प्रतियोगिताबाट छानिएका हुन् ।
