ब्याडमिन्टन खेलमा नयाँ आयामको थालनी, खेलाडीहरु कर्पोरेट हाउस संग आवद्ध

पोखरा स्पोर्टस । नेपाली ब्याडमिन्टनको ईतिहासमा नयाँ आयामको थालनी भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रर्वधन गर्ने लक्ष अनुरुप राष्ट्रिय खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग जोड्दै नयाँ आयामको सुरुवात गरेको हो ।

एकेडेमीले पुष ६ देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्ने कुमारी बैंक काठमाण्डौ टिम च्यामिपयनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण)मा नेपाली ब्याडमिन्टन खेलाडीहरुलाई कर्पोरेट हाउसहरु संग आवद्ध गर्दै ब्याडमिन्टन खेलको प्रवर्धनमा नयाँ आयामको थालनी गरेको हो ।

आज पत्रकारहरुको विचमा उच्च ८ बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुलाई सार्वजनिक गर्दै आयोजक एकेडेमीले उक्त जानकारी गराएको हो । बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेको कुमारी बैंकको प्रायोजन रहेको च्यामिपयनसिपमा ८ कर्पोरेट हाउसले बरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीहरुलाई आफुसंग आवद्ध गर्ने छन् भने अन्य खेलाडी कम्तिमा २ बर्ष संस्थामा कार्यरत रहेका ब्यक्ति अथवा खेलाडी हुनु पर्ने छ । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने समेत कार्यक्रममा जानकारी गराईयो ।

करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुलाई दर्ता हुने वित्तिकै २० हजार प्रदान गरिनेछ । प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरेता पनि ३५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव, नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तराष्ट्रिय अम्पायर दीपक थापाले पत्रकारलाई जानकारी गराए ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेश्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै टिम च्याम्पियनलाई रनिङ्ग ट्रफी प्रदान गरिनेछ भने पहिलो, दोश्रो, तेश्रो हुने खेलाडीहरुले मेडल तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

लैङ्गिक समानतालाई ध्यानमा राख्दै पुरुष तथा महिला खेलाडीहरुलाई समान पुरस्कारको ब्यवस्था गरेका छौं – महासचिव थापाले जानकारी गराए । खेलकुदको विकास गर्ने क्रममा विगतमा कर्पोरेट हाउसले गरेको योगदानको सम्झना गर्दै यस प्रकारको कार्यक्रमले खेलाडीहरुको हौशला बृद्धि गर्न मद्धत पुग्ने र खेलको विकासमा योगदान पुग्ने कार्यक्रममा सहभागी बक्ताहरुले बताए ।

टिम च्याम्पियनसिपमा पुरुष एकल (वरियता प्राप्त शिर्ष ८ खेलाडीहरुविच), महिला एकल (वरियता प्राप्त शिर्ष ८ खेलाडीहरुविच), कर्पोरेट युगल (कर्पोरेट हाउसमा कम्तिमा २ बर्ष कार्यरत ब्यक्ति अथवा खेलाडीहरु), पुरुष युगल (शिर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी), महिला युगल (शिर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी) पाँच ईभेन्ट्समा प्रतिस्पर्धा हुने छ । जसमा पाँच मध्ये ३ ईभेन्ट्स जित्ने टिमले खेल जित्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close