
पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापालाई टिमको कप्तानीबाट बर्खास्त गरिएको छ ।
नेपाल भलिबल संघद्वारा गठित छानविन समितिले प्रतिवेदन बुझाए संगै उनलाई टिमको कप्तानीबाट बर्खास्त गरिएको हो । नेपाल आर्मी टिमका टिम कप्तान समेत रहेका हरिहजुरले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी विरुद्धको खेलमा आफ्नो टिमलाई सम्हाल्न नसकेको आरोप लागेको छ । आर्मीका खेलाडीले विवाद हुँदा दर्शक दिर्घामा नै पुगेर दर्शक माथी हात हालेका थिए ।
यसै गरी छानबिनका लागि गठित ५ सदस्यीय समितिको सुझावका आधारमा दर्शकमाथि हातपात गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना, राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३–३ महिनाको प्रतिबन्ध लगाएको छ ।
यसका साथै धनबहादुर लाई ६ महिना, राजेन्द्र र धनपतीलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाइएको संघले जनाएको छ ।
समितिले विवादित खेलका मुख्य रेफ्रि चित्र जंग गुरुङ र सेकेन्ड रेफ्री अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा समेत निर्णायकको भूमिका निर्वाह गर्न नपाउने गरी संघले कार्वाही गरेको छ ।
संघले उक्त घटना छानविन गर्न महासचिव रोशन श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।
