एन्फा अध्यक्ष नेम्वाङ श्रद्धाञ्जली दिन पोखरामा

पोखरा स्पोर्टस । नेपाली फुटबलहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ पोखरा आएका छन् ।

उपाध्यक्ष दावा लामासहितको टोली गत चैत्र ८ गते निधन भएका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्वरसिं गुरुङका साथै कास्की फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितका बुबा स्वर्गिय लक्ष्मण रञ्जित प्रति श्रद्धाञ्जली दिन पोखरा आएको हो । अध्यक्ष नेम्वाङसहितको टोलीले पोखरा ३ नदिपुर स्थित स्वर्गिय गुरुङको निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

एन्फा टोलीले एक मिनेट मौन धारण गर्नुका साथै स्वर्गिय गुरुङकी धर्मपत्नी पूर्ण कुमारी गुरुङ, छोरा कारलोश गुरुङ, छोरी रिङ्कु गुरुङ र भाई पूर्व एसपी राजेन्द्र गुरुङलाई भेटेर समवेदना समेत प्रकट गरेको छ । 

सो अवसरमा परिवारलाई समवेदना प्रकट गर्दै अध्यक्ष नेम्वाङले पूर्व अन्तर्राष्ट्रिय खेलाडी गुरुङको असमायिक निधनले फुटबलका लागि ठूलो क्षती भएको बताए । उनले स्व. गुरुङले आफू बेलायती सेनामा रहँदा समेत राष्ट्रिय गौरव बढाउन भूमिका खेलेको बताउँदै प्रशिक्षकको भूमिकामा रहेर समेत उहाँले नेपाली फुटबललाई दिएको योगदानलाई विर्सन नसकिने बताए । “यो अपुरणिय क्षती हो । हामी उहाँ जस्तो फुटबलको व्यक्तित्वलाई गुमाएका छौं । एन्फा परिवार दुखमा छ । हामी उहाँको योगदानलाई संधै स्मरण गर्न चाहन्छौं,” उनले भने ।

यसका साथै एन्फा टोलीले पोखरा १० निवासी कास्की एन्फा अध्यक्ष उज्जवल रञ्जितका वुवा स्वर्गिय लक्ष्मण रञ्जित प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवार प्रति समवेदना प्रकट गरेको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

एन्फा टोली आजै काठमाण्डौ फर्किने भएको सहाराका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close