
पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा भएको १० किलोमिटर दौड प्रतीयोगितामा पुरुष तर्फ गिरिलाल कोहार प्रथम भएका छन् । पुरुष तर्फ सहभागी १ सय २८ जना खेलाडी मध्य आशिष क्षेत्री द्वितीय र संगम श्रेष्ठ तृतीय भएका छन् ।

महिलातर्फ १० किलोमिटर दौड प्रतियोगितामा भने यमुना थापा मगर प्रथम, अनिषा चौधरी द्वितीय र सरिता सिंजाली तृतीय भएका छन् ।
‘स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद’ भन्ने नाराका साथ भएको प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले बताए ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले पुरस्कार प्रदान गरेकी थिइन् । सोहि क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले खेलकुदले अनुसाशन कायम गर्ने साथै स्वास्थ्य र राष्ट्रका लागि योगदान पुर्याउने बताउदै खेलाडीहरुलाई थप सफलताको शुभकामना व्यक्त गरिन् ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा विभिन्न खेलकुदसंग सम्बन्धित व्यक्ति, पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो ।
