प्रकाश दाहाल स्मृति बक्सिङः आर्मीका सुशिल सेमिफाइनलमा

पोखरा स्पोर्टस । नेपाल आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा सुशिलले उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । उक्त स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपीएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ५४ केजीमा आर्मी ‘बी’ का सुदिप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भीपीबीसीका उपाश गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा एपीएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी तथा एचटुओका बुद्ध ग्याल्मो लामाले आर्मी ‘बी’ का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे ।

पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निसान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपीएफका सोनम सार्की सेमिफाइलनलमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close