
पोखरा स्पोर्टस । बगर भाई खलक पोखराले टुँडीखेल मैदान स्त्तरोन्नती सँगै चेन्जिङ रुम तथा शौचालय निर्माणका लागि नगद एक लाख सहयोग हस्तान्तरण गरेको छ ।

पोखराको ऐतिहासिक टुँडीखेल मैदान संरक्षणका लागि सरकारले चासो देखाएपछि मैदान स्त्तरोन्नतीका लागि बगर भाई खलक समेत अघि सरेको हो । गत वर्ष समेत बगर भाई खलकले नगद १ लाख ५० हजार सहयोग गरेको थियो । टुँडीखेल मैदान स्त्तरोन्नती उपभोक्ता समितीका अध्यक्ष प्रेमरमण आचार्यलाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले बगर भाई खलकले गरेको सहयोगको प्रशंसा गर्दै ऐतिहासिक टुँडीखेल मैदानको संरक्षणका लागि अन्य संघ संस्थाहरु समेत अगाडी आउनु पर्ने बताए ।
कार्यक्रममा वडा नं १ की अध्यक्ष शारदा कुमारी पराजुली, निर्माण उपभोक्ता समिती उपाध्यक्ष चन्द्र बहादुर गुरुङ, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, राष्ट्रिय मावीका प्रध्यापक सुर्य तिवारी, उपभोक्ता समितीका सचिब तथा इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानु अधिकारी लगायतले पोखरामा वढ्दो जनघन्त्व सँगै टुँडीखेल मैदान जस्ता ऐतिहासिक खेल मैदानहरुको संरक्षण तथा सम्वर्द्धनको खाँचो पनि बढ्दै गएको बताउँदै बगरभाई खलकको सहयोगका लागि आभार व्यक्त गरे ।
रकम हस्तान्तरण कार्यक्रममा बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’का लागि समेत सहज वातावरणमा सम्पन्न गर्न सहयोग मिल्ने बताए । प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य समेत रहेका गुरुङले प्रतियोगिता आयोजना गर्दा हरेक वर्ष २ लाख भन्दा वढि खर्च लागेको उल्लेख गर्दै सवैको साझा खेल मैदानको रुपमा स्थापित टुँडीखेल मैदान संरक्षण अभियानमा सवैको साथ र सहयोगको आवश्यक्ता रहेको कुरा औंल्याए ।
