नवौं राष्ट्रिय खेलकुदमा अपनत्व र पारदर्शिताको खोजीमा लोकतान्त्रिक खेलकुद संघ

पोखरा स्पोर्टस । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अपनत्व, पारदर्शिता र खेलाडीको सुविधाका विषयमा गम्भिर रुपमा आवाज उठाएको छ ।

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई गण्डकी प्रदेशको अपनत्व नभएको गुनासो गरेको हो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको गुनासो गर्दै भने, “दसँै–ंतिहार जस्तो पर्वको बेलामा राष्ट्रिय खेलकुद प्रतियोगिता उपयुक्त हुँदैन त्यसैले मिति परिमार्जन गर्नुपर्छ ।”

संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ । विभिन्न उपसमितिसमेत गठन गरेर नेपाली काङ्ग्रेस नेतृत्वको सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले भने यस्तो यस प्रति गम्भिर चासो व्यक्त गर्दै खेलाडीको हितका लागि समेत आफूले यस्तो आपत्ति व्यक्त गर्नु परेको जनाएको छ ।

संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ । खेलकुद प्रतियोगिता सम्पन्न गर्न स्थानीय व्यवस्थापनका लागि प्रदेशका सरोकारवालालाई समेटेर व्यवस्थित गरिनुपर्ने सघको माग छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्वर पोखरेलले गण्डकीका हरेक जिल्लामा कम्तीमा एक खेल खेलाउने व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने–“यहाँ आयोजना हुने प्रतियोगितामा हाम्रो अधिकारलाई कुञ्ठित गर्दै माथीबाटै उपसमिति चयन गरिएको छ ।” उनले प्रतिप्रश्न गर्दै भने–“भोली यहाँ प्रतियोगिता हुँदा त्यसको जस अपजशको भार हामीले वोक्नुपर्ने अनि उपसमितिमा स्थानियलाई वाइपास गर्ने ?”, यो न्याय सम्मत् छैन त्यसैले हामी बोल्न बाध्य भएका हौं ।”

कार्यक्रममा प्रदेशका उपाध्यक्ष विद्या मर्सानी र सदस्य प्रदिप पौडेललगायतले आयोजक समितिमा गण्डकी प्रदेशका व्यक्तिहरुलाई सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।

पोखरामा ३९ वर्षअघि दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । झण्डै ४ दशकपछि आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी करिब ९ हजार जनाको सहभागिता हुनेछ । ३६ खेलमा ४०७ पदक हुने छ । प्रतियोगिता सफल बनाउन नेपाल लोकतान्त्रिक खेलकुद गण्डकीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close