
केशव पाठक/पोखरा
पोखरा शाहसिक खेलकुदको गन्तव्य हो । पोखरा शाहसिक खेलकुदको गन्तव्य भएका कारणले पनि यहाँ २५ देखि ३० प्रतिशत पर्यटकहरु पोखरा आउने गर्छन । शाहसिक खेलकुदको गन्तव्यमा प्याराग्लाइडिङले करिव ८० प्रतिशत स्थान ओगटछ । पोखरा आउने पर्यटक मध्ये अधिकांश पर्यटक प्याराग्लाइडिङ गर्नका लागि मात्रै आउँछन । पोखराको प्याराग्लाइडिङ विश्वकै १० उत्कृष्ट गन्तव्य मध्ये एक हो । तर पोखराको आकाशमा हावामा कावा खाँदै गरेका प्याराग्लाइडिङहरु अब दिनभरि देखिने छैनन ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन पछि पोखराको प्याराग्लाइडिङ धरापमा परेको हो । माछापुच्छ्रे र अन्नपुर्णलाई छायाँ पार्दै फेवाताल माथी हावामा कावा खान अर्थात प्याराग्लाइडिङ गर्न जो सुकै पनि एक पटक मन उद्वेलित हुन्छ नै । अन्तर्राष्ट्रिय विमान स्थलको धावन मार्ग पूर्व पश्चिम भएका कारण प्याराग्लाइडिङ संकटमा पर्न थालेको हो । पोखराकै एक कार्यक्रममा समेत वरिष्ठ विमान चालक क्या.विजय लामाले समेत पोखराको प्याराग्लाइडिङका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

पोखराको फेवाताल र सराङकोट क्षेत्र एभिएसन जोनमा परेको कारण प्याराग्लाइडिङलाई कसरी संचालन गर्ने भन्ने विषयमा नागरिक उडययन प्राधिकरणले पहल गर्न थालेको छ । तर पोखरा जस्तो नेपालको जुन सुकै ठाउँमा प्याराग्लाइडिङ सारिए पनि त्यसको कुनै अर्थ नरहेको बताउँछन नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी । किनभने विश्वकै उत्कृष्ट गन्तव्यको स्थान पाउन मुस्किलनै पर्नेछ । विमानस्थल संचालन पछि प्याराग्लाइडिङका विश्व कप हुन वा अन्य स्थानिय प्रतियोगिता यसका लागि ढोका संधैका लागि वन्द हुने जस्तो अवस्था पनि आउन सक्छ ।
अब के होला त?
केही महिना अघि प्याराग्लाइडिङलाई व्यवस्थित, मर्यादित, दुर्घटना तथा जोखिम कमगर्न नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकारिक संस्थाको रुपमा हवाई उड्ययन प्राधिकरणले नियूक्त गरेको थियो । सो अनुरुप पोखराको प्याराग्लाइडिङलाई बचाउन के गर्न सकिन्छ भन्नका लागि समेत प्राधिकरणले एक कार्यदलनै बनायो । सो कार्यदलले एक अध्ययन पश्चात प्रतिवेदन संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणलाई बुझाएको छ ।

प्रतिवेदनमा समेटिएका विषय मध्ये पोखराको प्याराग्लाइडिङ जोगाउन समय तोकिएको छ । अब दिनभरि प्याराग्लाइडिङ उड्दैनन । त्यो पनि अझै निर्णय भएको छैन । न त मन्त्रालय यस बारे प्रष्ट छ न त प्राधिकरण नै । मनोरंजरनले भरिएको शाहसिक उड्ययनलाई व्यवस्थित बनाउँदै ऐतिहासिक प्याराग्लाइडिङको थलो जोगाउने जिम्मा मन्त्रालय र प्राधिकरणको हातमा छ । ना का उपाध्यक्ष इन्द्र भण्डारीका अनुसार मन्त्रालय र प्राधिकरण यस बारे सकारात्मक रहेका छन तर अध्ययन प्रतिवेदन अझै सार्वजनिक नभएका कारण यसै हो भन्न सक्ने स्थिती पनि छैन ।
तर केही प्याराग्लाइडिङ व्यवसायीहरुले आफ्नो नाम नबताउने शर्तमा पोखराका केही व्यवसायीहरुनै मिलेर पोखराको प्याराग्लाइडिङ ध्वस्त बनाउन खोजेको आरोप लगाउँछन । “अन्तर्राष्ट्रिय विमानस्थल शुरु हुँदैमा पोखराको प्याराग्लाइडिङलाई बन्द गराउन खोज्नु मुर्खता बाहेक अरु केही हुनै सक्दैन” उनीहरु भन्छन । पोखराको प्याराग्लाइडिङ व्यवस्थित र मर्यादित हुनुपर्नेमा उनीहरु समेत जोड दिन्छन । अध्ययन प्रतिवेदन टोलीका सदस्य मध्ये एक शैलेन्द्र राउत पोखराको प्याराग्लाइडिङ जोगाउन मन्त्री योगेश भट्टराई र प्राधिकरण महानिर्देशक समेत सकारात्मक रहेको बताउँछन ।
अध्ययन प्रतिवेदनमा विशेष गरि चासो भनेकोनै अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि प्याराग्लाइडिङ कसरी बढाउने नै हो भने मनोरंजनात्मक उड्ययन प्राधिकरण नियमावली २०६९ को संसोधन, दर रेट र उच्चस्तरिय प्रविधीको प्रयोग लगाएतका विषय छन । “प्रतिवेदनले सबै कुरा बोलेको छ” अध्यक्ष भण्डारी भन्छन–“यस्तै हुन्छ भन्ने अझै निर्क्योल भएको छैन जस्तो सुकै परिस्थितीमा पनि पोखराको प्याराग्लाइडिङ जोगाउन पर्छ भन्ने छ ।” उनले ‘स्लट सिष्टेम’ गरेर भए पनि प्याराग्लाईडिङ संचालन गर्ने सोच रहेको बताए ।

पोखरामा यति बेला ७० भन्दा वढी प्याराग्लाइडिङ व्यवसायिक कम्पनी र ३५० भन्दा वढी प्याराग्लाइडिङ पाइलटहरु कार्यरत छन । प्रदेश सरकार र स्थानिय सरकारलाई कम्पनीहरुले वार्षिक रुपमा भ्याट र अन्य कर गरि वार्षिक करौडौ तिर्छन । सरदर एक कम्पनीमा ५ देखि ७ जना पाइलट कार्यरत छन भने कर्मचारीको संख्या १ हजार भन्दा वढी छ । त्यसमा पनि प्राधिकरणले कम्पनीहरुलाई प्याराग्लाइडिङ संचालनको लागि शसर्त नियम लागु गर्नेछ । प्राधिकरणको नियम उल्लघन गर्ने र नियम मिच्नेलाई उडान प्रतिवन्ध गरिनेछ भने कम्पनीहरुले समेत परिक्षा प्रणालीमा जानुपर्ने छ ।
अध्यक्ष भण्डारीले भने जस्तै गरि स्लट सिष्टेम भयो भने पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन पछि २ घन्टा भन्दा वढी प्याराग्लाइडिङ संचालन हुनेछैनन । त्यसकारण अब दिनभरि आकाशमा प्याराग्लाइडिङ उडेको देख्न पाइने छैन ।
