तेक्वान्दो गण्डकी र कास्कीको संयूक्त शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र जिल्ला तेक्वान्दो संघ कास्कीले संयूत्त, रुपमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेका छन् ।


नेपालीहरुको विभिन्न पर्व दशै, तिहार, नेपाल सम्वत, छट लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा १० औं कोरियन एम्वासडर पुम्सेमा विजेता पोखरा अव्सुल्युट डोजाङका विजेता खेलाडीद्वय गुनमायाँ गुरुङ र सुभन गुरुङलाई सम्मान गरिएको थियो ।

गत भाद्र १८–२१ गते सम्म भएको प्रतियोगितामा उनीहरु दुवै जना कोरियामा हुने अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेका लागि छनोट समेत भएका छन् । महिला ११ वर्ष मुनीको खेलाडी गुनमाया गुरुङ र पुरुषतर्फको ११ वर्ष मुनी सुभन गुरुङ छनोट भएका हुन् । सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनही नगद ५ हजार र सम्मान पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा अव्सुल्युट डोजाङ प्रमुख तथा कास्की तेक्वान्दोकी सदस्य रेख माया गुरुङलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश खेलकुद सदस्य सचिव तेज बहादुर गुरुङले खेल क्षेत्र भित्र सकारात्मक भन्दा पनि नकारात्मक टिका टिप्पणी उठिरहेको बताए । खेलकुद भित्र धेरै समस्याहरु रहेको चित्रण अघि सार्दै उनले भने–“ति कमजोरीहरुको दोष अरुलाई दिनु भन्दा पनि आफूले खेलकुदका लागि के गरें भन्ने बारे सोच्न आवश्यक छ ।”

हरेक कुरा सकारात्मक भएर सोचे मात्रै समाज संगै खेलकुदको विकास अघि बढ्ने बताउँदै सदस्य सचिव गुरुङले प्रदेश खेलकुदले प्रदेशका ११ वटै जिल्लामा ‘टेयालेन्ट हन्ट’ कार्यक्रम मार्फत प्रतिभावान खेलाडीहरुको खोजी गरिने बताए । उनले प्रदेश खेलकुदले चाँडै नै स्वयंसेवी प्रशिक्षकहरुको उत्पादन शुरु गर्न लागेको सो अवसरमा जानकारी समेत दिए ।

सो अवसरमा नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङले खेलकुदले नै समाजमा सभ्य नागरिक उत्पादन गर्न सक्ने धारणा अघि सार्दै त्यसमा तेक्वान्दो खेलको भूमिका अझै प्रभावकारी रहेको बताए । उनले भने–“तेक्वान्दो खेलले सभ्य नागरिक संगै व्यक्तित्व विकास मात्रै गर्दैन आर्थिक उपार्जनको लागि समेत उत्तिकै ठूलो भूमिका रहेको छ ।”

२०३९ साल बाट नेपालमा शुरु भएको तेक्वान्दो खेलले नेपालका लागि ओलम्पिक, एशियन तथा दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल भएको बताउँदै ओलम्पिकमा प्रतिष्पर्धा बाट सहभागी हुने सक्ने एक मात्र खेल तेक्वान्दो रहेको बताउँदै भने–“अझै पनि राज्यले तेक्वान्दो खेलको भूमिकालाई ग्रहण गर्न सकेको छैन न त राज्यले कुनै सहयोग नै गरेको छ ।” हालै लुम्विनीमा ऐतिहासिक रुपमा चौथो महाधिवेशन भव्य रुपमा सफल भएको र उक्त अधिवेशनमा सातै प्रदेश र ५८ जिल्लाबाट प्रतिनिधीहरु सहभागी भएको उनले बताउँदै उक्त अधिवेशन रोक्न चलखेल समेत भएकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, गण्डकी तेक्वान्दो संघका महासचिव रमेश पौडेल, जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, सचिव दिपेन्द्र पाहारी, सम्मानित प्रशिक्षक रेख मायाँ गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल र केन्द्रिय सदस्य मदन केसीलाई सम्मान गर्ने भनिए पनि दुवै जना पोखरा बाहिर रहेकोले उपस्थित हुन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close