
पोखरा स्पोर्टस । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती प्लेइङ- ११ सार्वजनिक भएको छ ।
उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा हुने यस खेलमा नेपाली टिमको कप्तानको जिम्मेवारीमा सावित्रा भण्डारी साम्बा रहेकी छन् भने गोलकिपर अन्जना रानामगर खेल्दैछिन् ।
डिफेन्समा गीता राणा, समीक्षा घिमिरे र निशा थोकर खेल्दैछन् भने मिडफिल्डमा रेनुका नगरकोटी, प्रिती राई, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत रहेका छन् । त्यस्तै फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ खेल्दैछन् । यसअघि नियमित खेल्दै आएका रेखा पौडेल र एन्जिला सुब्बा सुरुवाती प्लेइङ-११ मा परेका छैनन् ।
फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।
यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।
