
पोखरा, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई बिहीबार पुरस्कृत गरिएको छ ।
युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता तिन खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए । बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन् ।
सागको बक्सिङ दुई पुरुष र एक महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए । पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए । महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् । खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो । सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव सिलवालले पुरस्कार राशीलाई सानो वा ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे । उनले भने–‘पुरस्कार राशी सानो होस् वा ठूलो त्यसको मतलब हुन्न तर विदेशमा बसेर पनि आफ्नो लगाव भएको खेलका पदक खेलाडीलाई बस्नेतजी (कुश) ले सम्झिनुनै महत्वपूर्ण कुरा हो ।’
विदेशमा बस्ने थुप्रै पूर्व खेलाडीहरु भएकाले पनि उनीहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने पुरस्कार राशी पनि ठूलो हुने सदस्य–सचिव सिलवालले बताए । उनले खेलाडीले पाउनु पर्ने सागको पुरस्कार चाँडै दिन आफूले पहल गरिरहेको जानकारी दिए ।
बक्सिङ संघका अध्यक्ष अवालेले खेलाडीलाई पुरस्कार प्रदान गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बक्सिङका रजत र कांस्य विजेतालाई पनि चाँडै पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।
