हक्की….“पोखरा रंगशालामा बल्ल खेल्ने ठाउँ पायौं”

पोखरा स्पोर्टस । पोखरा १७ निवासी हित गुरुङ यति बेला कोरियामा छन । हक्कीका राष्ट्रिय खेलाडी र प्रशिक्षक पनि रहेका उनको एक मात्र सुगा रटाई छ । हक्कीको पुर्वाधार बनाइदेउ ! उनले यो कुरा सायद भन्न कसलाई भन्न बाँकी राखेका छैनन ।

सामाजिक सञ्जालमा हक्कीको विषयमा दिनको एक पटक स्टाटस लेख्नु हितको दैनिकी नै बनेको छ । कोरियामा वैदेशिक रोजगारीका लागि पुगेका उनी स्थानिय देखि राष्ट्रिय खेलाडी सम्म सबैको सोधी खोजी गर्छन । धुले मैदानमा कठिनाई पूर्वक खेल्दै गरेका पोखरेली खेलाडीको र मैदान तस्विर देखि त्यसलाई दाँज्दै कोरियाका आधुनिक हक्की कोर्टको फोटोहरु सञ्जालमा पोष्ट गर्दै नेपाली हक्कीको भविष्य खोज्छन् ।

नेपालमा हक्की खेलाडीको उत्पादनको थलो बनेको पोखरामा लामो समय देखि हक्कीको पुर्वाधार नहुँदा खेलाडहरु मर्कामा छन् । पूर्वाधार निर्माणको कारणले ढपक्कै ढाकेको पोखरा रंगशालामा हक्कीको व्याट सहित पोखरा रंगशाला छिर्ने खेलाडीलाई प्रशिक्षण अभाव खटकिन थाल्यो । खेलाडीहरु रंगशाला भित्र काम नलाग्ने उवड खावड जमिनमा आफ्नो शिप तिर्खान बाध्य भए । पुर्वाधारकै कारण राष्ट्रिय खेलमा गण्डकीले हक्कीमा जमाई राखेको शाख पछिल्लो समयमा विस्तारै खस्किदैं गयो ।

यति बेला भने खेलाडीमा केही आशा भने पलाएको छ । रंगशाला भित्र पूर्वतर्फको खाली स्थान प्रशिक्षणका लागि खेलकुदले उपलव्ध गराए पछि उनीहरु खुसी भएका छन । दिनहुँ प्रशिक्षणका लागि पोखरा रंगशाला आउने खेलाडी मध्येकी नानु गुरुङ प्रशिक्षण गर्ने ठाउँ भए पछि खुसी लागेको बताइन । उनले भनिन–“संधै भौतारिनु परेको थियो बल्ल सजिलो भयो ।” अनुहारमा खुसीको चमक देखिएको उनमा र उनका सहकर्मीहरुमा पनि त्यस्तै भाव झल्कन्छ । डोजरले मैदान सम्याउँदै गर्दा उनीहरु पनि एक जुट भएर ढुङ्गा टिप्न अघि सर्छन ।

“यत्तिको ठाउँ पाउनु पनि हाम्रो लागि निकै मेहनत गर्नु पर्यो” नानु भन्छिन–“हामी निकै खुसी छौं, अव त साथीहरु संधै प्रशिक्षणका लागि रंगशाला आउने छन ।” पोखरा रंगशालामा महिला र पुरुष गरी करिव ४० जना दैनिक प्रशिक्षणका लागि आउने गरेको नानुले बताइन । अव उनीहरुको एक मात्र लक्ष्य नवौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल जित्नु हो । नानु भन्छिन–“अव त सानो भने पनि सिक्ने ठाउँ पायौं तर अव प्रशिक्षकको खाँचो छ ।” पोखरामा पूर्वाधार अभावकै कारण प्रशिक्षकहरुले पोखरा छोडिसकेका छन् । “हामीलाई प्रशिक्षकको खाँचो छ भन्ने कुरा खेलकुदमा गरेका छौं” नानुले भनिन–“अव प्रशिक्षक पायौं भने राम्रो हुने थियो ।”

यता राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडीको चर्को दवाव पछि अस्थायी रुपमा मैदान उपलव्ध गराइएको बताए । उनले भने–“खेलाडीको उत्साह र चाहनालाई हामीले सम्मान गर्नुपर्छ ।” हक्कीको पूर्वाधार नहुँदा समस्या भइरहेको आफूहरुलाई थाहा भए पनि स्थायी पुर्वाधारका लागि पोखरामा उचित ठाउँको खोजी भइरहेको समेत उनले बताए । उनले भने–“पोखरा रंगशालामा अव पुर्वाधार निर्माणका लागि कुनै ठाउँ बाँकी छैन हक्की सहित केही खेलका पूर्वाधारहरु पोखराको अन्य स्थानमा निर्माण गर्नुपर्छ ।” राखेप, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद र पोखरा महानगर खेलकुद मिलेर हक्की खेलाडीको समस्या समाधानका लागि पहल गरिने उनले बताए ।

यस्तै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले पनि खेलाडीलाई ढुक्क भएर प्रशिक्षण गर्न आग्रह गरेका छन । हक्कीको पुर्वाधारका लागि लामो समय देखि खेलाडीहरुले सामुहिक रुपमा आवाज उठाइरहेको प्रति आफ्नो ध्यनाकर्षण भएको बताउँदै भने–“हक्कीको पुर्वाधार निर्माणका लागि जग्गाको खोजी त हुँदैछ तर अझै ठाउँ पाउन सकेका छैनौ ।” ठाउँ नै नपाएर खेलाडीहरु भौतारिरहेको आफूले देखिरहेको बताउँदै अहिले पोखरा रंगशालामा अस्थायी रुपमा भए पनि उपलव्ध भएको बताए । “अहिले जे छ हामीले त्यसैमा अगाडी बढ्ने हो तर स्थायी ठाउँ भने पक्कै आवश्यक छ ।” उनले खेलाडीलाई निरास नभई आफ्नो प्रशिक्षणमा ध्यानकेन्द्रित गर्न आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close