
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फेटबल संघ (एन्फा)को विवाद छनविन समितीले बुधबार सम्ममा प्रतिवेदन वुझाउने भएको छ ।
छनविन समितीले गएको बुधबार प्रतिवेदन बुझाउने बताइए पनि छानविनका लागि थप एक साताको समय मागेको हो । रिपोर्टको तयारीका केही प्रक्रियाहरु वाँकी नै रहेकोले बुधबार सम्मका लागि थप समय मागिएको छानविन समितीकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले बताइन । प्रवक्ता श्रेष्ठले भनिन-“हामीले छानविनलाई निचोडमा पुर्याउन चाहन्छौ आज हामी थप वयानका लागि बोलाउने वा नवोलाउने भन्ने बारे आजको बैठकमा तय गर्नेछौं,” उनले भनिन । अन्तिम प्रयास स्वरुप एन्फाको विवाद छानविन समितीले मिलाउन खोजेको बताउँदै प्रवक्ता श्रेष्ठले भनिन–“हामीले उहाँहरुलाई मिलेर आउनुहोस भनेका छौं” उनले भनिन–“उहाँहरु हाम्रो कुरा सुन्न तयार हुनुभएको जस्तो लागेको छैन । उहाँहरु नेपाली फुटबल विकासका लागि मिलेर आउँदा राम्रो हुनेथियो, यदि मिल्नै चाहनुहुन्न भने हाम्रो केही भन्नु छैन ।”
यता समस्या समाधानका लागि बिहिबार एन्फा पदाधिकारी सहित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा बिहिबार राती अवेर सम्म छलफल भएको थियो । राखेपले विवाद समाधानका लागि एन्फाका पदधिकारी सहितलाई बिहिबार राखेपमा छलफलका लागि वोलाएको थियो । राखेपले मिल्नका लागि त्यहाँ आफूहरुलाई वोलाइए पनि कुरा भने टुङ्गोमा पुग्न नसकेको बैठकमा सहभागीले बताए ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अबदुल्हा अल्मुताइरीले गत साउन १० गते राजिनामा दिने घोषणा गरे पछि उत्पन्न विवाद छानविनका लागि एन्फाले यूवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयले राखेपलाई छानविन गर्न निर्देशन गरे पछि राखेपले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सात सदस्यिय समिती गठन गरेको थियो ।
समितिले छानविनका क्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, एन्फा उपाध्यक्षद्वय कृष्ण थापा र विर बहादुर खड्का एन्फा महासचिव इन्द्रमान तुलाधर, एन्फाका पूर्व प्रवक्ता किरण राई, राखेप अन्तर्गत फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी, राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बु, विवादको मध्यस्तकर्ता मध्येका एक नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार र दुईजना पत्रकारहरु सँग बयान लिएको थियो ।
