अध्यादेश विरुद्ध नेपाल खेलकुद महासंघको विरोध सभा जारी, देशैभर आन्दोलनको घोषणा

पोखरा स्पोर्टस । नेपाल सरकारले ल्याएको अध्यादेश विरुद्ध नेपाल खेलकुद महासंघले आफ्नो विरोधको कार्यक्रम विहिबार पनि जारी राखेको छ । सरकारले दल विभाजन गर्ने उद्देश्यले जारी गरेको अध्यादेश, भूमि आयोग खारेजी लगायतका मुद्दा उठाएर देशैभरी आन्दोलनको घोषणा गरेको महासंघले बिहिबार काठमाडौंको त्रिपुरेश्वर लगायत नेपालका विभिन्न शहरमा प्रदर्शन तथा कोण सभाको आयोजना गरेको हो ।

खेलाडी, खेलकर्मी तथा महासंघका नेताकार्यकर्ताको उपस्थिति रहेको काठमाडौंको सभालाई सम्बोधन गर्दै अध्यक्ष रमेशकुमार पौडेलले महासंघको पहलकदमीमा अघिल्लो सरकारले बजेटमा धेरै कुराको व्यवस्था गरेको तर वर्तमान सरकारले कार्यान्वयन गर्ने कुरामा दिनप्रतिदिन शंका बढ्दै गएकोले खेल र खेलाडीको अहित हुने तथा अनादर गरिने सबै किसिममा कार्यका विरुद्ध लड्नका लागि महासंघ सधैं तत्पर रहेको धारणा राखेका छन् । तथापी नेपाल खेलकुद महासंघ राज्यका सम्पूर्ण निकायलाई खेलकुदको समग्र विकासका सन्दर्भमा रचनात्मक सहयोग तथा सहकार्य गर्नका लागि सधैं तत्पर रहेको समेत अध्यक्ष पौडेलको भनाई थियो ।

राजनीतिक दल विभाजन गर्नका लागि परमादेशबाट बनेको सरकारले ल्याएको विधेयकले सिंगो बहुदलीय व्यवस्था तथा स्थिरता र तिव्रतर विकासको अभियानलाई कमजोर पारेको छ बताउँदै अध्यक्ष पौडेलले भूमि समस्या समाधान आयोग खारेजी लगायतका सरकारका पछिल्ला गतिविधिले सरकार गरीब तथा भूमिहिन जनताको विरुद्धमा रहेको समेत पुष्टि भएको उल्लेख गरे ।

त्यसैगरी महासंघका महासचिव मेघराज पौडेलले देशको समग्र राजनीति शुद्धिकरणका लागि खेलाडी तथा खेलक्षेत्रको महत्वपूर्ण भूमिका हुनसक्ने र राजनीतिक क्षेत्रका व्यक्तिहरुले खेलकुद क्षेत्रबाट अनुशासनको पाठ सिक्नुपर्ने महासंघको ठम्याई रहेको प्रष्ट पार्दै खेलाडीहरुको अधिकारका लागि खेलकुद महासंले आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने बताउँदै आम खेलाडी तथा खेलकर्मीहरुलाई साथ दिनका लागि आग्रह समेत गरे । उक्त सभामा महासंघका सम्पूर्ण पदाधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु लगायत खेलक्षेत्रका अग्रजहरुले भौतिक उपस्थिती जनाएर आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको नेकोसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close