
पोखरा स्पोर्टस । हक्की प्रशिक्षणका लागि पोखरा रंगशालामा अस्थायी मैदान उपलव्ध गराइएको छ । ।

हक्की खेलको आफ्नौ मैदानमा नहुँदा प्रशिक्षणमा समेत समस्या आए पछि जिल्ला खेलकुद विकास समिती कास्कीले पोखरा रंगशालामा अस्थायी मैदान उपलव्ध गराएको हो । पोखरा रंगशालाको गेट न. २ मा रहेको खाली ठाउँ हालका लागि हक्कीको प्रशिक्षणका लागि उपलव्ध गराइएको अध्यक्ष तोरण बहादुर बाँनियाले बताए ।
पदकको सम्भावना बोकेको हक्कीको आफ्नै मैदान निर्माण गर्न पटक पटक आवाज उठिरहेको भए पनि उपयूक्त जग्गा प्राप्त हुन नसक्दा प्रशिक्षणमा नै अवरुद्ध आए पछि अस्थायी रुपमा ठाउँ तोकिएको अध्यक्ष बाँनियाले बताए । उनले भने–“खेलाडी साथीहरु पनि हामी सँग मैदान चाहियो भन्दै आउनु भयो, हामीले सम्भावित ठाउँहरु खोज्यौं तर पाउन सकेनौ” उनले थपे–“प्रशिक्षण नै अवरुद्ध भएर खेलाडीलाई समस्या भए पछि हामीले यो ठाउँ उपलव्ध गराएका हौं ।”
अहिले कास्कीमा महिला र पुरुष गरी ५०/६० को हाराहारीमा खेलाडी रहेको र भदौको दोश्रो साता हक्कीको आन्तरिक प्रतिष्पर्धा गराइने तयारी भइरहेकोले खेलाडीलाई मैदान आवश्य रहेको अध्यक्ष बाँनियाले बताए । यता लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले खेलाडीलाई अस्थायी रुपमा भए पनि मैदान उपलव्ध गराएर जिल्ला खेलकुद विकास समितीले राम्रो काम गरेको बताए । खेलाडीको आवाजलाई कुण्ठित पार्न नहुने बताउँदै उनले भने–“हक्कीका लागि पूर्वाधार आवश्यक थियो, तर अहिले जे जस्तो उपलव्ध भयो त्यो सर्हानिय कार्य हो ।”
हक्कीका लागि उपलव्ध गराइएको उक्त स्थानको जिल्ला खेलकुदले आफ्नै पहलमा आज बाट सरसफाई गर्न सुरु गरेको छ । सरसफाईका लागि खेलाडी सँगै अध्यक्ष बाँनिया समेत आफै मैदानमा खटिएका थिए ।
