
पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको अध्यक्ष पदमा कुमार गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।


संघको सम्पन्न १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनले कुमार लाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । संघको पाचौ अधिवेशनले उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा दिपेन्द्र पाहारी, कोषाध्यक्षमा किरण गौतम निर्वाचित गरेको छ ।
यसै गरी कार्यसमिती सदस्यमा प्रितम कुवर, अरुण माझी, रेख माया गुरुङ, कृष्ण महर्जन र निशान कार्की सर्व सम्मत रुपमा निर्वाचित भएका छन ।
यस अघि संघको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले पोखरा रंगशालामा मार्शल आर्टस प्रशिक्षण केन्द्रको निर्माणको योजना अघि सारिएको बताए । मन्त्री गुरुङले भने–“हामीले ५ तला सम्म निर्माण गर्ने योजना बनाएका थियौं तर बजेट अभावका कारण त्यो अहिले नै सम्भव हुन सकेन । हामी यो वर्ष हामी दुई तलाबाट शुरु गरेर वहुवर्षिय योजना अन्तर्गत निर्माणलाई सम्पन्न गर्छौ ।”
यूवा तथा खेलकुद मन्त्रालयका हरेक कुराहरु पारदर्शी रुपमा आफूले अघि बढाइरहेको बताउँदै मन्त्री गुरुङले भावी पुस्ताका लागि समेत अहिले निर्माण हुने पूर्वाधारले भूमिका खेल्ने बताए । मन्त्री गुरुङले मन्त्रालयमा प्राप्त ८ करोडको बजेट बढाएर ५० करोड बनाउन सफल भएको बताउँदै भने–“हामीले भावी पुस्ताका लागि के दियौं भन्ने कुरा महत्वपूर्ण हो त्यसैले हाम्रा योजनाहरुले उनीहरुको भविष्यलाई मार्गदर्शन गराउन भुमिका खेल्ने छ ।”
यूवा तथा खेलकुद मन्त्रालयले प्रदेशको शहासिक खेलकुदको गन्तव्यको रुपमा पहिचान अघि बढाउन तिन वटा योजना अघि बढाएको बताउँदै सामुदायिक विद्यालयमा खेलकुदको गतिविधिलाई अघि बढाउन विशेष योजनाहरु कार्यान्वयन गरिने बताए । विगतको सरकारलाई भन्दा अहिलेको सरकारलाई खेलकुद बारे वुझाउन आफूलाई निकै सकश परेको धारणा अघि सार्दै मन्त्री गुरुङले भने–“पहिलेको सरकारमा प्राय सबै मन्त्रीहरु खेलकुद वुझेको हुनुहुन्थ्यो, तर अहिले एउटै कुरा मुख्यमन्त्री देखि मन्त्रीसम्म वुझाउँदै हिड्नु परेको छ ।”
कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले राष्ट्रिय अभिवृद्धी तथा समृद्धीका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने–“हामीले आफ्नो जिवनमा मात्रै होइन सवै वर्ग र समाजमा खेलकुद संस्कृतीको विकास गर्न आवश्यक छ ।”
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेश खेलकुदले तेक्वान्दो खेललाई प्राथमिकतामा राखेको बताउँदै पोखरा रंगशालामा भएका पूर्वाधारहरुको उपयोग गर्न सके धेरै खेलाडी लाभान्वित हुने बताए । उनले सन २०२४ मा फ्रान्समा हुने ओलम्पिकमा प्रतिष्पर्धा बाट छनोट हुने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश खेलकुद परिषद अघि बढेको बताउँदै भने–“उत्कृष्ट खेलाडीको उत्पादन, सवैका लागि खेलकुद, शिप अभिवृद्धी, र पूर्वाधार विकास गरी चारवटा कुरालाई मुख्य गरी अघि बढाएका छौं ।”
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले खेलकुदमा बढ्दो राजनितिकरणले नेपाल तेक्वान्दो संघ पनि अछुतो बन्न नसकेको धारणा अघि सार्दै ४० वर्षको इतिहासमा तेक्वान्दो खेलको विकास हुन नसक्नुको पछाडी राजनिती नै मुख्य जिम्मेवार रहेको बताए । संघका केन्द्रिय सदस्य मदन केसीले खेलकुदमा वढ्दो गुट उपगुट र राजनितिक खिचातानी बाट सजग हुँदै तेक्वान्दो खेलको विकास अघि बढ्न आग्रह गरे । कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर वानियाले भाइचारको सम्वन्ध विकास गर्न खेलकुदको भूमिका अहम हुने बताउँदै समन्वय र सहकार्य गर्दै खेलकुद अभियानमा एकजुट हुनुपर्ने भनाई राखे ।
निरन्तर १४ वर्ष सम्म कास्कीको तेक्वान्दो संघको अध्यक्षमा रहेका जगन बहादुर गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै भने–“खेलकुद आधुनिक युगमा प्रवेश गरे पनि कास्कीको तेक्वान्दोले भने जस्तो गरी आफूलाई त्यो स्थानमा पुर्याउन सकेको छैन ।” उनले प्रशिक्षक र खेलाडीका लागि आधुनिक खेल सामाग्री खरिदका लागि प्रदेश सरकार संग आग्रह गर्दै सन २०२४ सम्ममा एशियन तेक्वान्दो च्याम्पियनशिप पोखरा ल्याउने योजनामा आफूहरु अघि बढेको बताए । उनले यहि वर्षको कार्तिकमा माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्यिनशिप आयोजना गरिएको बताउँदै त्यसमा विदेशबाट खेलाडी र प्रशिक्षक गरी करिव १ हजार २ सय पोखरा आउने बताए । सो अवसरमा अध्यक्ष गुरुङले आफूलाई १४ वर्ष सम्म सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।
सो अवसरमा कास्की जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलमा अनवरत रुपमा सहयोग गर्ने संघकी निवर्तमान द्वितिय उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीकी सदस्य निर्मला बराल, निवर्तमान प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान कार्य समिती सदस्य भुपाल सिंह गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कास्की जिल्लामा रहेर विभिन्न डोजाङमा प्रशिक्षण गराइरहेका १४ जना प्रशिक्षकहरुलाई करिव ४ लाख बराबरको खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कास्कीमा हाल ३२ डोजाङमा करिन २ हजार ५ सय खेलाडी प्रशिक्षणरत रहेका छन ।
