
पोखरा स्पोर्टस । पोखरामा खेलाडीहरुलाई कोभिड १९ विरुद्धको पहिलो चरणको खोप लगाइने भएको छ ।
खेलाडीलाई पहिलो चरणको खोप शुक्रवार बाट लगाइने भएको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले पहिलो चरणमा ४ सय जना खेलाडीलाई खोप लगाइने बताए । “राखेप, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद खेलकुद विकास समितीले संयूक्त रुपमा पहल गरेको थियौं,” राखेप सदस्य गुरुङले भने–“हामी खेलकुदलाई चलायमान बनाउन पहिलो चरणमा ४ सय जनालाई खोप लगाउने कार्यक्रम छ ।”
राखेप सदस्य गुरुङका अनुसार पोखरा रंगशालामा विशेष गरी नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेका खेलाडी र अन्य प्रशिक्षणरत खेलाडीलाई समेत खोपको सुविधा दिइने भएको हो । कोभिड १९ को महमारीका कारण ठप्प प्राय रहेको खेलकुद गतिविधिलाई अघि बढाउन खेल संघ र खेलाडीहरुले खोपको माग गर्दै आएका थिए ।
खेलाडीहरुलाई खोप उपलव्ध गराउन राखेप, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद खेलकुद विकास समितीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा वारम्वार अनुरोध गरेको थियो । खेलकुदलाई पूर्ववत अवस्थामा फर्काउन कास्कीमा एक हजार खेलाडीलाई खोपको माग गरिएको थियो ।
