
पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा आयोजना हुने गृष्मकालिन ओलम्पिकका लागि तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्दिरा मल्लको यात्रा रोकिएको छ ।

ओलम्पिकको तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्दिरा मल्ल कोभिड १९ पोजेटिभ भए पछि यात्रा स्थगित भएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आज एक विज्ञप्ती प्रकाशित गर्दै प्रशिक्षक मल्लको स्थानमा अर्का प्रशिक्षक सन्तोष श्रेष्ठलाई पठाइने भएको जानकारी दिएको छ ।
एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तीमा सबैको सहमतीमा प्रशिक्षक श्रेष्ठलाई जापान पठाउने निर्णय भएको जनाएका छन ।
के भन्छिन मल्ल ?
पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत प्रशिक्षक मल्ल आफूलाई कोभिड पोजेटिभ नभएको बताएकी छन । “आफ्नो स्वास्थ्यमा त्यस्तो कुनै समस्या छैन, म हिजो पनि ट्रेनिङमा थिए” उनले प्रश्न गर्दै भनिन–“हिजो हामीले संगै खेलाडी संग र पत्रकार संग बसेर खाजा पनि खायौं, हिजो केही नहुने आज पोजेटिभ भन्ने ?” उनले ओलम्पिकले पटक पटक कुरा फेरेको बताउँदै भनिन –“राष्ट्रपती ज्यू संग विदाई कार्यक्रममा सहभागी समेत भँए, मलाई पोजेटिभ आएको कुरा सोझै भनिएन खेलाडीलाई भनियो, कोचलाई नभनी किन खेलाडीलाई अवगत किन गराइयो ? मलाई हत्सोसाहित बनाउन खोजिएको छ ।“
अन्तिम समयमा पोजेटिभको इस्यू बनाएर आफूलाई ओलम्पिक जान रोकिएको बताउँदै ओलम्पिक यात्रा सम्मका लागि आफूले खेल जिवनमा धेरै हण्डर खाएर यहाँ सम्म आइपुगेको बताउँदै उनले भनिन–“मलाई ओलम्पिक नपठाउन धेरै राजनिती संगै नाटक मञ्चन गरिएको छ ।” आफू यतिबेला अभिभावक विहिन भएका बताउँदै एक महिला प्रशिक्षक माथी खेलकुदको नेतृत्वले कोभिडको नाउँमा जापानको यात्रा रोकिएको उनले बताइन । आफूले अहिले सम्म अस्पतालले दिएको पिसिआर रिपोर्ट समेत पाउन नसकेको बताउँदै आफू माथी पक्षपात भएको जिकिर गरिन ।
