
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय सेपाकताक्रो प्रतियोगिता २०८२ मा पुरुषतर्फ लमजुङ र महिलातर्फ नवलपुर जिल्ला च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश सेपाकताक्रो संघको व्यवस्थापनमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुष तर्फको फाइनलमा लमजुङले नवलपुरलाई डबल्सतर्फ १७–१५ र १५–०९ को सोझो सेटमा पराजित गरी च्याम्पियन भएको हो । तर रेगु इभेन्टतर्फ नवलपुर च्याम्पियन बन्यो । रेगुतर्फ नवलपुरले लमजुङलाई १५–०३, १५–१२ र १५–०८ को सेटमा पारजित गरेको हो ।

यत महिलातर्फ रेगु र डबल्सतर्फ दुबै इभेन्टमा नवलपुर च्याम्पियन बन्यो । फाइनलमा नवलपुरले कास्कीलाई १५–११ र १५–१२ ले पराजित गरेको हो । त्यसै गरी रेगु र डबल्स इभेन्टमा महिला र पुरूषतर्फ तनहुँले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा तनहुँले स्याङजालाई हराउन सफल भयो ।
प्रतियोगितमा च्याम्पियन भएको लमजुङ र नवलपुरले समान नगद २५ हजार, उपविजेता कास्कीले १५ हजार र तनहुँले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा पुरुषतर्फ तनहुँका अतिश राना र महिलातर्फ नवलपुरकी सलिना गुरूङ राइजिङ प्लेयर घोषित भए ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई संघका सल्लाहकार याम बहादुर गुरूङ, संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठ, उपाध्यक्ष द्वय सारिका गुरूङ र ढाकाराम भट्टराईलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा थाइल्याण्डमा सम्पन्न ३७ औं किङ्स कपमा मिक्स डबल्सतर्फ स्वर्ण पदक जित्न सफल लमजुङ बेशीशहर २का दिपेश जङ थापालाई नगद ५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष गरी १९ टिमको सहभागिता रहेको थियो ।
