
पोखरा स्पोर्टस । विश्व पौडी महासंघ (फिना) को आव्हानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस महोत्सवको रुपमा मनाएको छ ।

काठमाडौ उपत्यकालगायत मोफसलका विभिन्न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस महोत्सवका रुपमा मनाइने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका हुन । बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष वज्राचार्यले फिनाको झण्डा झण्डोत्तोलन गरेका थिए ।
विगतमा दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिने गरेकोमा यसपटक कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष वज्राचार्यले जानकारी गराएका छन । कार्यक्रमका अवसरमा राष्ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।
दिवसकै अवसरमा जुलाई १७ मा काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम आयोजना गरिने छ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुने छ । जुलाई १८ मा नेपालगन्जमा कार्यक्रम हुने भएको छ ।
त्यसअघि सदस्य–सचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरे । पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको अध्यक्ष वज्राचार्यले जनाएका छन् । जिम हलमा करिब २० लाख बराबरको सामाग्री राखिएको छ । फिनाको स्थापना भएको दिनलाई विश्वभरी रहेका फिनामा आवद्ध संघहरुले दिवसका रुपमा मनाउँदै आएका छन । फिनाको स्थापना सन १९०८ मा भएको थियो ।
