
पोखरा स्पोर्टस । लमजुङको बेशीशहरमा ‘दोश्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा आगामी असार २ गते हुन लागेको उक्त ‘मिनी म्याराथन’ दोश्रो सस्करण हो । ‘मिनी म्याराथन’ बेंसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार, बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै पुनः भोटेओडार, कृष्ण बगैंचामा पुगेर समापन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५५ हजार ५ सय ५० मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुनेलाई नगद रु २५ हजार ५ सय ५० तृतीय हुनेलाई नगद रु १५ हजार ५ सय ५० रुपैयाँ र सान्त्वना हुने २ जनालाई जनही नगद रु १० हजार ५ सय ५० रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा देशभर जुनसुकै ठाउँका जुनसुकै र उमेर समुहले सहभागि हुन पाउने प्रदेश खेलकुद परिषदका सदस्य दिवाकर बरालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गत वर्ष सम्पन्न प्रथम खुल्ला मिनि म्याराथनको उपाधी जुम्लाका दुर्गा बुढा मगरले जितेका थिए ।
