पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ फुटबल च्याम्पियनसिपको तयारी थाल्न निर्देशन दिएका छन ।
‘थ्रि नेसन्स’ कपका विजेता खेलाडीलाई सरकारको तर्फबाट बालुवाटारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन । बंगालादेशमा आयोजना हुने गरी एक वर्ष अघि नै तय भएको साफ च्याम्पियसिप कोभिड १९ का कारण अनिश्चित बनेको थियो ।
साफ च्याम्पियनसिपको तयारी थाल्न राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघलाई निर्देशन दिंदै आवश्यक बजेटका लागि नेपाल सरकारको सहयोग रहने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“साफ च्याम्पियनसिपका लागि बंगालादेशले हात झिके पछि हामीले आयोजनाका लागि दावी गरेका छौं ।” आयोजनाका लागि साउथ एशियन फुटबल फेडेरेशनलाई टिम तयारी लगायत अन्य खर्चका लागि ७ लाख ५० हजार डलर वुझाउनु पर्ने अध्यक्ष शेर्पाले बताए ।
अध्यक्ष शेर्पाले प्रधानमन्त्रीको निर्देशन पछि एन्फा उत्साहित रहेको बताउँदै साफ फुटबल च्याम्पियसिपको आयोजनाले फुटबल विकासमा सहयोग पुग्ने बताए । साफ आयोजना भयो भने भारत सहित पाँच देशको सहभागिता हुनेछ । कोभिड १९ को प्रोटोकलका कारण भुटानले यस अघिनै सहभागिता हुन नसक्ने जनाई सकेको छ भने पाकिस्तानलाई फिफाले कार्वाही गरेका कारण सहभागिता जनाउन पाउने छैन ।
