पोखरा स्पोर्टस् अवार्डको तयारी पुरा, आर्चरी संघ कास्की उत्कृष्ट घोषित

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा समारोहमा जिल्ला आर्चरी संघ कास्की उत्कृष्ट खेल संघबाट सम्मानित हुने भएको हो ।

अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए ।

यो वर्ष स्पोर्ट्स अवार्डका विभिन्न ७ विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । तीमध्ये उत्कृष्ट पत्रकारतर्फ २ जना सम्मानित हुने छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु–याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई प्रदान गरिने छ ।

वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका छन् ।

उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा ४० हजार बरावरको चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला बाट सम्मनित हुनेछन ।

पत्रकार सम्मेलन अवसरमा मञ्च अध्यक्ष एकराज गिरीले अवार्ड सार्वजनिक गर्दै विषम परिस्थितिबीच हुन लागेको कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष रञ्जन अधिकारी र संचालन महासचिव विजय नेपालले गरेका थिए । मूल कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन सहित युट्वबाट शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारणको व्यवस्था मिलाइएको छ । समारोहको प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहने छन् ।

खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । जसको सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा उत्कृष्ट पत्रकार छनोट समितिमा त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ र विनोद लामिछाने एवं पदेनसदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल छन् ।

मञ्चले स्पोर्ट्स अवार्ड बृहत् बनाउन अध्यक्ष गिरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएको छ । सो उपसमिति सदस्यमा पत्रकार कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् । यस्तै, सो समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्षलाई समेटिएको छ ।

सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता भैसकेको छ । यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकार (वर्ष २०७७) लाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ ।

साथै लाइभ पार्टनरमा एबीसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, रेष्टुरेन्ट पाटर्नरमा मुगलान रेष्टुरेन्ट सभागृहचोक छ भने बैंकिङतर्फ लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, पोखरा फाइनान्स छन् । यस्तै केल्मी प्रालि, सिर्जना विकास केन्द्र, सिटी एजुकेसन एण्ड कन्सल्टेन्सी, राजेश गुरुङ (राखेप सदस्य), मिलन गुरुङ (एन्फा कास्की), पोषण थापा (फेवा सिल्टेसन प्रालि), राजन गुरुङ (समाजसेवी एवं युवा व्यवसायी) सहयोगीका रुपमा जोडिएको आर्थिक संयोजक एवं कोषाध्यक्ष शशिकुमार पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close