नवौं राष्ट्रिय खेलकुद :गण्डकीका पदक विजेता खेलाडीहरुलाई परिषदले नगद सहित सम्मान गर्ने

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का पदक विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले नगद सहित सम्मान गर्ने भएको छ ।

प्रदेश खेलकुद परिषदको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक बारे जानकारी दिंदै परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार मंसिरको तेश्रो साता भित्रै खेलाडीहरुलाई नगद सहित सम्मान गरिनेछ । खेलाडी संगै खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत सम्मान गरिने उनले बताए ।

गण्डकी प्रदेशका तर्फबाट पदक बिजेता खेलाडीहरुलाई सम्मान गर्न परिषदले कार्यविधि समेत तयार गरिसकेको जानकारी गराउँदै पौडेलले सम्मान कार्यक्रमको व्यवस्थापन गर्न कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गरिएको बताए । “हामीले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई सम्मान गर्नेछौं । यसका लागि प्रक्रियागत कुराहरु हामीले तय समेत गरिसकेका छौं”:–उनले भने ।

कार्यकारी समितिको बैठकले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै यसका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल संघहरु, जिल्ला खेलकुदहरु तथा सम्पूर्ण गण्डकी प्रदेश खेलप्रमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

गत असोज २८ गतेबाट कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम हुन सफल भएको थियो भने विभागिय टिम पछि समग्रमा चौथो स्थान हासिल गरेको थियो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्यपदक प्राप्त गरेको थियो ।

सदस्य सचिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यकारी समितिको बैठकमा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यहरु दिल बहादुर गुरुङ, ऋषीराम गौतम, तारामायाँ थापा मगर, सदस्यहरु केशव पाठक, शुभकन्या गुरुङ, विष्णुमायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close