
पोखरा स्पोर्टस । गोरखा सेमिट्रीज ट्रष्ट काठमाडौंले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदलाई ५ वटा पोर्टेबल भेन्टिलेटर प्रदान गरेको छ ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा उक्त संस्थाका अध्यक्ष महेन्द्र राईले राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । कोभिड १९ को दोश्रो लहर जारी रहेकै बेला खेलकुदमा आवद्ध रहेकाहरुले समेत ज्यान गुमाउने अवस्था आए पछि संस्थाले ति सामाग्री उपलव्ध गराएको ट्रष्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) राष्ट्रिय तिम तयारीका निर्देशक समेत रहेका राईले बताए ।

सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष राईले भने–“कोभिडको दोश्रो लहर शुरु भए पछि खेलकुदका धेरै साथीहरुको स्वर्गारोहण भएको छ, हामीले नचहँदा नचहँदै पनि खेलकुदमा भएको क्षतीको पुर्ती त गर्न सक्दैनौ तर केही हद सम्म रोक्न सकिन्छ भनेर भेन्टिलेटर सहयोग गरेका हौं ।” प्राप्त स्वास्थ्यका यि सामाग्रीहरु खेलाडी, प्रशिक्षक र खेलकुदमा कार्यरता कर्मचारी विशेषका लागि भएको उनले बताए । डिजिटल प्रविधीमा रहेको भेन्टिलेटरले एक पटकमा चार देखि पाँच जना सम्मले प्रयोग गर्न मिल्ने र यो प्रविधी नेपालका लागि नितान्त नयाँ समेत भएको अध्यक्ष राईले चिकित्सको भनाईलाई उद्धृत गर्दै बताए ।

गोरखा सेमिट्री ट्रष्ट हङकङको पहलमा ५० थान भेन्टिलेटरहरु नेपालको लागि प्राप्त भएको जानकारी दिंदै यसका लागि ट्रष्टका हङकङ अध्यक्ष रत्न खिमदुङ, सचिव अमोद राई, कोषाध्यक्ष देवराज राई, सामाजिक अभियान्ताद्वय यूकेश राई, सञ्जय राई लगायत विश्व भरी रहेका नेपाली र विदेशीहरुले समेत सहयोग गरेको अध्यक्ष राईले बताए । “उहाँहरु यतिबेला निकै उत्साहित हुनुहुन्छ, हामीले यि सामाग्री अति संवेदनशिल क्षेत्र तथा समुदायमा वितरण गरेका छौं, फेरी पनि सहयोग जुटाउने प्रयत्न उहाँहरुले गर्दै हुनुहुन्छ ।”
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले प्राप्त सामाग्रीहरुका लागि गोरखा सेमेट्री परिवारलाई आभार व्यक्त गर्दै महामारीका बेला खेलाडी, प्रशिक्षक र खेलकुदका कर्मचारीहरुका लागि प्रयोग गरिने बताए । उनले भने–“महामारीका समयमा यो निकै महत्वपूर्ण कार्य हो गोरखा सेमेट्रीको जती प्रशंसा गरे पनि कम नै हुन्छ समग्र खेलकुद परिषद यसका लागि ट्रष्टलाई आभार व्यक्त गर्दछ ।”
सो अवसरमा वोल्दै संस्थाका महासचिव भोजानन्द राईले ट्रष्टले सामाजिक अभियान सँगै विश्वयूद्ध लगायत अन्य विभिन्न समयमा १ सय ५० भन्दा धेरै देशमा भएका यूद्धहरुमा सहादत प्राप्त गर्ने नेपाली विर योद्धाहरुको खोजी कार्य गरिरहेको बताउँदै उनले ति यूद्धका जिवित योद्धाहरुलाई समेत सम्मान गर्दै आएको बताए ।
सो अवसरमा ट्रष्टका उपाध्यक्ष मनी कुमार सुनुवार, सचिव शान्ता परियार, कोषाध्यक्ष रन्जु राई, आठौं साग वक्सिङका स्वर्ण पदक विजेता राम चन्द्र थापा मगर, वक्सिङ खेलाडी प्रेम लामा,क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बानियाँ, क्षेत्रिय खेलकुदका डिवी नेपाली लगायतको सहभागिता रहेको थियो ।
यसै विच क्षेत्रिय खेलकुदलाई प्राप्त ५ थान भेन्टिलेटर आजनै एक कार्यक्रमका विच राखेप सदस्य गुरुङले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन । आवश्यक परेको बेला खेलकुद क्षेत्रलाई प्रयोगमा आउने गरी पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीको रोहवरमा प्रतिष्ठानका उपकुलपती प्रा.डा. डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र निर्देशक प्रा.डा. भरत खत्रीलाई हस्तान्तरण गरेका छन ।
