पोखरा रंगशालामा निर्माण हुने भनिएको स्विमिङ पुल र शुटिङको टेन्डर प्रक्रिया थन्कियो राखेपको दराजमा

चालु आवको २० मध्ये ५ योजना सम्पन्न, कोभिडका कारण अन्य योजना अलपत्र

पोखरा स्पोर्टस । करिव ३८ वर्ष पछि गण्डकी प्रदेशको राजधानीमा हुन लागेको नवौ राष्ट्रिय खेलकुदका लागि पोखरा रंगशालामा दुई ठूला पूर्वाधार हिटिङ स्विमिङ पुल र सुटिङको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पहल शुरु गरे पनि टेन्डर प्रक्रिया भने यति बेला दराजमा थन्किएको छ ।

नवौं राष्ट्रिय खेलकुदका लागि मेगा प्रोजेक्टका रुपमा रहेको स्विमिङ पुल र सुटिङको डिपिआर तयार भएर पनि बजेटकै कारण दुवै योजना अलपत्र परेका हुन । चालु आव २०७७–०७८ मा दुवै योजनाका लागि ५०–५० लाख बजेट भए पनि टेन्डर प्रक्रिया नै दराजमा थन्किए पछि अनिस्चित भएका छन । निर्माण हुने भनिएको हिटिङ स्विमिङ पुलका लागि ३८ करोड र सामाग्री सहितको शुटिङ रेन्ज करिव १५ करोड खर्च हुने राखेपले जनाएको थियो ।

तर यता राखेपका सदस्य राजेश गुरुङ भने नवौ राष्ट्रिय खेलकुदका लागि दुवै पूर्वाधार निर्माण हुने बताउँछन । उनी भन्छन–“यति बेला राखेप सदस्य सचिव ज्यू देश बाहिर हुुनुहुन्छ एक सातामा उहाँ फर्किएपछि हामी यसबारे गहन छलफल गर्छौ ।” नेपाल सरकारले चालु आव भन्दा ३८ करोड वढी रकम आव २०७८–०७९ का लागि २ अवै ७४ करोड विनियोजन गरे पनि नवौं राष्ट्रिय खेलकुदका लागि कति विनियोजन भयो भन्ने अझै यकिन हुन सकेको छैन । कोभिड १९ को मारमा परेको नवौं राष्ट्रिय खेलकुद आयोजना एक वर्ष पछि धकेलिएको छ भने बजेटको समेत अनिस्चिततामा पूर्वाधार निर्माणको काम समेत अलपत्र बनेको छ ।

चालु आवमा कति काम सम्पन्न कति अलपत्र ?
चालु आवमा गण्डकी प्रदेशका लागि हिटिङ स्विमिङ पुल र सुटिङ बाहेक अन्य १८ योजनाका लागि विनियोजित ४ करोड ५ लाख मध्ये ५ वटा योजना मात्रै सम्पन्न भएका छन । जसमध्ये पोखरा १९ लामाचौरको प्यारापिट र चेन्जिङ रुम निर्माणको १० लाख, पोखरा २५ हेमजाको गौरिशंकर खेल मैदान निर्माणको १० लाख, लमजुङमा कभर्ड हल निर्माणको १० लाख र मुस्ताङमा कभर्डहल निर्माणमा १० लाख गरी कुल ६५ लाख खर्च भएको छ । यि सम्पन्न भएका पूर्वाधारहरु पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको रेख देखका सम्पन्न भएका हुन ।

तर यतिबेला नयाँ खेलकुद ऐन आए पश्चात क्षेत्रिय खेलकुद विकास समितीको करिव करिव अन्त्य हुने स्थिती आए पछि अन्य निर्माणको अन्य कार्यहरु भने सोझै राखेपले नै गरिरहेको छ । जस मध्ये पोखरा वहुउद्धेश्यिय कभर्ड हलको पार्केटिङ कार्यका लागि उपभोक्ता समिती मार्फत गर्ने गरी राखेपले काम शुरु गर्ने भएको छ । यहि २०७८ असार मसान्त सम्म सक्ने गरी उक्त योजनामा १ करोड खर्च हुने छ । उपभोक्ता समिती सँग राखेपले सम्झौता गरी सकेको भए पनि काम भने अझै शुरु भने हुन सकेको छैन भने कभर्ड हलमा कुर्ची राख्ने र साउण्ड सिष्टम लगायतका लागि बजेट निस्चित समेत हुन सकेको छैन ।

त्यसै गरी चालु आवमा विनियोजित रकम मध्ये ५ योजनाहरुमा निर्माण कार्य भइरहेको क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीले बताएका छन । पोखरा रंगशालाका लागि विनियोजित ५० लाख, पोखरा १९ को जेष्ठ नागरिक बहुउद्धेश्यिय कभर्ड हलको ५० लाख, रंगशाला स्त्तरोन्नती गोरखा १० लाख, बागलुङको मदन भण्डारी कभर्ड हल १० लाख, खेल पूर्वाधार निर्माण स्याङजा १० लाख र पोखरा रंगशाला क्रिकेट स्टेडियमको २५ लाख खर्च गर्ने गरी निर्माण कार्य भइरहेको जनाइए पनि केही पूर्वाधारको काम अझै शुरु नै हुन सकेको छैन । पोखरा रंगशाला क्रिकेट स्टेडियमका लागि उपभोक्ता समिती मार्फत तार जाली हाल्ने काम शुरु हुने जनाइएको छ ।

कुन पूर्वाधार निर्माण कार्य कोभिडको मारमा
चालु आवमा २० योजना मध्ये ४ वटा योजनाहरु कोभिडको मारमा परेको क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख योगीले बताएका छन । १० लाख खर्च गर्ने भनिएको तनहुँको चिन्तुटार खेल मैदान, १० लाख खर्च गर्ने भनिएको कावासोती ३ नवलपुरको फुटबल रंगशाला निर्माण कार्य र १० लाखमा निर्माण हुन लागेको पर्वतको कभर्ड हल निर्माण कार्य कोभिड १९ का कारण निर्माण कार्यमा अवरोध आएको क्षेत्रिय खेलकुदले जनाएको छ ।

तर कोभिड १९ को अवरोधका विच पनि केही पूर्वाधार निर्माण कार्य भने रोकिएका छैनन । जस मध्ये १० लाख खर्च हुने गरी मनाङ जिल्लामा निर्माण भइरहेको कभर्ड हल अन्तिम चरणमा पुगेको छ भने राइनास ६ लमजुङमा १० लाखमा निर्माण भइरहेको गौलीटार रंगशाला र १० लाख खर्च गर्ने गरी निर्माण भइरहेको म्याग्दीको रत्नेचौर कभर्ड हल निर्माण कार्य भने सुचारु रहेको क्षेत्रिय खेलकुदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close