
पोखरा स्पोर्टस । भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा वरिष्ठ सांस्कृतिक कर्मी मेनकाजी गुरुङको निधन भएको छ ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका मेनकाजीको फिसटेल अस्पतालमा उपचारको क्रममा ५८ वर्षको असमायिक निधन भएको हो । तमु धिं नेपालका सह–सचिव, गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) का पुर्व सल्लाहकार समेत रहेका मेनकाजी मित्र राष्ट्र भारतको अलहाबाद विश्वविद्यालयबाट सास्त्रिय नृत्यमा डिप्लोमा समेत गरेका थिए ।
२०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता र २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा नृत्यतर्फ स्वर्ण पदक विजेता मेनकाजीले प्रथम र दोश्रो अन्तर नगर नृत्यतर्फ समेत स्वर्ण पदक जितेका थिए । उनी गोर्खा दक्षिण बाहु चौथो, क्षेत्रिय राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जनौ सम्मानबाट विभुषित भएका थिए ।
कोभिड १९ का कारण केही दिन अघि श्रीमती गुमाएका मेनकाजीको एक छोरा र एक छोरी रहेका छन । कास्कीको पर्यटकिय गाउँ सिक्लेसमा जन्मिएका उनी पोखरा १५ नयाँगाउँमा बस्दै आएका थिए ।
भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले उनको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन । उनले भनेका छन–“मेनकाजी एक व्यक्ती मात्रै थिएनन, उनी राष्ट्रका सम्पती थिए, सामाजिक व्यक्तित्व थिए, उनको स्वर्गारोहणले खेलकुद मात्रै नभई सिङ्गो सांस्कृतिक क्षेत्र मर्माहित भएको छ ।” उनकौ आज नै अन्तिम संस्कार गरिने तयारी भइरहेको जनाइएको छ ।
