उपेक्षामा पोखरा रंगशालाको क्रिकेट खेल मैदान

पोखरा स्पोर्टस । पोखरा रंगशालको क्रिकेट खेल मैदान निर्माणका लागि यो वर्ष पनि प्राथमिकतामा पर्न सकेन ।

नेपाल सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आगामी वर्ष २०७८/०७९ को बजेटमा नेपालका विभिन्न जिल्लामा ६ वटा क्रिकेट रंगशाला निर्माण गर्ने भनिए पनि पोखरा रंगशाला पर्न नसकेको हो । अर्थ मन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, मोरङको वैजनाथ, काठमाडौंको मूलपानी, कञ्चनपुरको महेन्द्रनगर र दाङको लमहीमा क्रिकेट स्टेडियम बनाउन आवश्यक रकम विनियोजन गरिएको बताइरहँदा एशियाकै उत्कृष्ट मध्येको एक पोखरा क्रिकेट खेल मैदान भने सरकारको नजरमा पर्न सकेन ।

पोखरा रंगशालाको क्रिकेट खेल मैदान विसं २०६३/०६४ मा निर्माण शुरु भएको थियो । ०६३/०६४ सालमा पोखरा रंगशालमा क्रिकेट बिकासका लागि जग्गा छुट्टाएर प्रा.डा.बिरेन्द्र सिंह गुरुङको संयोजकत्वमा तत्कालिन कास्की जिल्ला क्रिकेट संघका सदस्य अशोक पालिखे सहितको टिमले यो मैदानको स्वरुपमा खडा गरेको हो । निर्माण भएकै दुई वर्षमा यो मैदानमा राष्ट्रियस्तरको प्रतियोगिता समेत भयो ।

उता सरकारको प्राथमिकतामा रहेको काठमाडौंको मुलपानी क्रिकेट रंगशाला पोखराको भन्दा दुई वर्ष पछि निर्माण शुरु भएको हो । तर त्यो मैदानमा अझै पनि सहज रुपमा प्रतियोगिता हुन सकेका छैनन । पोखरा रंगशालामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेट पनि सम्पन्न भएको छ भने पोखरा प्रिमियर लिग (पिपिएल) समेत हुँदै आएको छ । तर पोखरा रंगशालालाई उपेक्षा गर्नु निकै दुखद रहेको बताउँछन गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु । “सन १९९८ मा नै पोखरा क्रिकेट रंगशाला विश्वकै उत्कृष्ट रंगशाला एसिसी र आइसिसीले मानेको थियो” उनले भने–“पछि निर्माण शुरु भएका क्रिकेट रंगशाला प्राथमिकता परेका छन ।”

आर्थिक वर्ष २०७६/०७७ मा पोखरा क्रिकेट खेल मैदानका लागि नेपाल सरकारले ३ करोड विनियोजन गरेको थियो । तर कोभिडका विचमा काम शुरु हुन नसक्नुका कारणलेनै पोखराका लागि विडम्वना भएको बताउँछन अध्यक्ष प्रजु । उनले भने–“यदि त्यो ३ करोडको काम गर्न पाएको भए क्रिकेट खेल मैदानले आकार पाउने थियो, तर त्यो रकम समय अभावले फ्रिज हुन पुग्यो ।”

नेपालको अकोै विडम्वना के पनि हो भने विनियोजित रकमको खर्च वर्षको अन्तिम समयमा आएर निकासा गर्ने प्रचलन । चालु आवमा राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको २५ लाखबाट यति बेला पोखरा रंगशाला क्रिकेट मैदानमा तार जाली हाल्न नाप जाँच शुरु भएको छ । असार मसान्त सम्म योजना सक्ने गरी प्राप्त २५ लाखले तार जाली हाल्ने काम त होला तर मैदानका लागि आवश्यक प्याभिलियन, शौचालय, स्टोर रुम जस्ता आधारभुत निर्माण कार्य कहिले सम्भव हुने भन्ने प्रश्न उठ्न थालेको छ ।

पोखरा रंगशाला क्रिकेट खेल मैदानमा गतिलो स्टोररुम नहुँदा १३ औं सागमा प्राप्त खेल सामाग्री हरु समेत अलपत्र अवस्थामा छन भने खेलको विचमा वर्षा भयो भने ओत लाग्ने ठाउँ समेत छैन । पोखरा क्रिकेट खेल मैदानको विश्वकै उत्कृष्ट खेल मैदानको रुपमा दर्ज भए पनि राज्यको उपेक्षाका कारण २३ वर्ष देखि अलपत्र हुनु दुःखद पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close