पोखरा स्पोर्टस । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । वाइल्ड कार्ड पाए सँगै उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको हो ।
कल्पनाले १० मिटर एयर राइफलमा प्रतिष्पर्धा गर्ने भएकी छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएकी छिन् । “नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,” नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बताएका छन ।
कल्पना सँगै नेपालका ४ जना खेलाडीहरु टोकियो ओलम्पिकको लागि तयारी अवस्थामा रहेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठल पोखरा स्पोर्टसलाई बताए । उनले भने–“जुलाई २३ देखि अगस्ट ८ सम्म हुन टोकियो ओलम्पिका लागि कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ ।” सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।
वाइल्ड कार्डको पखाईमा रहेका अन्य खेलाडीको लागि समेत प्रयास भइरहेको महासचिव श्रेष्ठले बताए । करातेका अनु अधिकारी र नविन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ वाइल्ड कार्डको पर्खाइमा रहेका छन ।
ओलम्पिकको तयारीमा रहेका सवै खेलाडी र प्रशिक्षकहरुको कोभिड भ्याक्सिनको दोश्रो खोप समेत आज लगाइ सकिएको महासचिव श्रेष्ठले जानकारी दिए ।
