
पोखरा स्पोर्टस । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ ।
कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएका कारण अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको आयोजकले जनाएको हो । कोभिड रोकथामका लागि देशका अधिकांश जिÞल्लामा निषेधाज्ञा जारी भएको तथा सभा सम्मेलन, खेलकुद लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएका कारण म्याराथन स्थगित गर्नु परेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले विज्ञप्ती मार्फत जनाएको छ ।

कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम समेत स्थगित गरिएको अन्नपूर्ण समितिले जनाएको छ । पहाडी र हिमाली क्षेत्रको समृश्रणको रुपमा रहेको अन्नपूर्ण म्याराथन कोभिडका कारण यो सँगै लगातार दोश्रो पटक स्थगित भएको छ ।
समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराएका छन । “कोभिड १९ कै कारण गत वर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट फैलिएका कारण उक्त कार्यक्रमलाई निरन्तर दिन नसकेकोमा क्षमा चाहन्छौं,” विज्ञप्तीमा भनिएको छ–“कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७८ साल जेष्ठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गर्ने तयारी गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।”
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले अनुरोध गरेको छ ।
वि.सं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएको संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधोज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । धराशायी बन्दै समग्र पर्यटन उद्योग गम्भीर संकटोन्मुख परिस्थितिमा गुज्रिएको छ । पर्यटन क्षेत्रलाई धाराशायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्नस्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गरिएको छ ।
फायल तस्विर
