क्योकुसिनका वज्राचार्यको निधन

पोखरा स्पोर्टस । क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो ।

गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।

स्व. वज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कांस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रदान गौचनले जनाएका छन् । २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व. वज्राचार्य २ पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष स्व. वज्राचार्यको २०१२ साल बैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व. वज्राचार्यका श्रीमति, १ छोरा र २ छोरी छन् ।

उनको निधनले खेल क्षेत्रमा एक कुशल नेतृत्व र प्रशिक्षक गुमाउन पुगेको भन्दै राखेप सदस्य लाखेले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन । यसै गरी राखेप सदस्यद्वय सम्पन्न श्रेष्ठ र सुवर्ण श्रेष्ठले समेत बज्राचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close