
पोखरा स्पोर्टस । कोभिड १९ का विच भएको लकडाउनमा समेत गण्डकी प्रदेशका यूवा तथा खेलकूद मन्त्री राजिव गुरूङ पोखरा रंगशाला पुगेका छन ।

नवौ राष्ट्रिय खेलकूदको तयारीमा कहाँ कसरी कुन खेलको प्रशिक्षण अगाडी वढाउन सकिन्छ भन्ने उद्धेश्यका साथ मन्त्री गुरुङ रंगशाला पुगेका हुन । प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरूङ सहित रंगशाला पुगेका उनले मार्शल आर्ट लगायत खेलकूदको प्रशिक्षण सञ्चालनका लागि कुन ठाउँ कसरी प्रयोग भइरहेको छ भन्ने बारे जिज्ञासा राखेका थिए ।

सो अवसरमा मन्त्री गुरुङले पश्चिमाञ्चल क्षेत्रिय खेलकूदका कार्यालय लक्ष्मण प्रसाद योगी सँग रंगशाला भित्रका सवै पूर्वाधारहरुको निरिक्षण गर्नुका साथै सवै खेलहरुलाई समान रुपले प्रशिक्षण हल र स्थानहरु उपलव्ध गराउन निर्देशन समेत दिएका थिए । उनले निरिक्षणका क्रममा भने–“अव हामी सुतेर बस्ने बेला छैन नवौंको तयारीमा जुट्नु छ भने अर्कोतर्फ खेलाडीलाई महामारीका विच पनि पूर्ण हौसला दिंदै मनोवैज्ञानिकरुपमा तयार गर्नुछ ।”

पोखरा रंगशाला देशकै गौरवको रंगशालाको रुपमा रहेको बताउँदै अव गण्डकी प्रदेश खेलकूद परिषदको कार्यालय भवन समेत एक–दुई दिनमा नै शिलन्यास गरिने मन्त्री गुरुङले जानकारी दिए । उनले भने–“नवौंको यति धेरै व्यवस्थापन गर्न आवश्यक छ, हामी सँग धेरै चुनौती पनि छन,” उनले प्रश्न गर्दै थपे–“कार्यालय नभए सम्म कहाँबाट कसरी सञ्चालन गर्न सकिन्छ ?” उनले पोखरा रंगशाला भित्र प्रदेश खेलकूद परिषद कार्यालयका लागि छुट्टाइएको स्थानको समेत अवलोकन गरेका थिए । उनले बुधबार सवै परिषदको टिम सँग बसेर योजनाहरु अगाडी बढाइने समेत जानकारी पोखरा स्पोर्टसलाई दिए ।
