एनओसी द्वारा १९ औं एसियाली खेलकुदमा सहभागी सम्मानित

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एक विशेष कार्यक्रमबीच चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी तथा विजेता खेलाडीलाई सम्मान गरेको छ ।

सो अवससमा उनीहरूलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता थियो । नेपालले प्रतियोगितामा एक एक रजत तथा कांस्य जितेको थियो ।

कराँतेकी एरिका गुरुङले महिला ६७ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । यस्तै महिला कपर्दीमा नेपालले कांस्य पदक जित्न सफल रहेको थियो ।

त्यस अगाडि एनओसीको १५ औं साधारण सभा सम्पन्न भएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले बन्द सत्र सञ्चालन गरेका थिए । त्यस अवसरमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्ष सन् २०२३ को प्रगति विवरण पेस गर्दै त्यस अवसरमा उल्लेखनीय कार्यक्रम गर्न संस्थान सफल रहेको बताए ।

यस्तै कोषाध्यक्ष रतन टण्डनको प्रतिनिधित्व गर्दै कर्मचारी राजन श्रेष्ठले वर्ष सन् २०२३ को आर्थिक विवरण पेश गरे । उनले अर्को वर्षका लागि अनुमानित बजेट पनि पेश गरे । सभाले दुवै प्रगति तथा आर्थिक विवरणलाई अनुमोदन पनि गरेको थियो । एनओसी अन्तर्गतका विभिन्न कमिसनले पनि आफ्नो कार्य प्रगति तथा योजनाहरु समेत पेश गरिएको थियो ।

कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद डिगबहादुर लिम्बूले गरेका थिए । एनओसीका महासचिव श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तब्य दिएका थिए ।

वक्ताहरूले हाङचाउ एसियाली खेलकुदमा नेपालको प्रदर्शनको समीक्षा हुनुपर्ने बताउँदै अबको संस्करणका लागि चाँडै तयारी सुरु गर्नेमा पनि जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close